काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा न्युयोर्कमा भएको प्रदर्शनबाट अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’ की अभिनेत्री ह्याना आइनबिन्डरसहित थुप्रै प्रदर्शनकारी पक्राउ परेका छन्।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रदर्शनबाट १सय भन्दा बढी व्यक्ति नियन्त्रणमा लिइएको आयोजक समूहले जनाएको छ।प्रदर्शन ‘ज्युइस भ्वाइस फर पिस’ को आयोजनामा संयुक्त राष्ट्रसङ्घको मुख्यालयनजिक गरिएको थियो। प्रदर्शनकारीहरूले सडकमा बसेर इजरायललाई हतियार आपूर्ति रोक्न र गाजामा जारी युद्ध अन्त्य गर्न माग गरेका थिए। प्रहरीले सडक खाली गर्न आग्रह गरेपछि पनि प्रदर्शन जारी राख्नेहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।
सारन्डनलाई प्रहरी अधिकारीहरूले हातमा हतकडी लगाएर प्रदर्शनस्थलबाट बाहिर लैजाँदै गरेको दृश्य सार्वजनिक भएको थियो। आइनबिन्डर पनि प्रहरी नियन्त्रणमा परेकी थिइन्।यसैबीच, महासभामा नेतान्याहुले सम्बोधन सुरु गर्दा विभिन्न देशका प्रतिनिधिहरू सभाकक्षबाट बाहिरिएका थिए। आफ्नो भाषणमा उनले इजरायलमाथि भइरहेको अन्तर्राष्ट्रिय आलोचनाको प्रतिवाद गर्दै देशको सैन्य कारबाहीको बचाउ गरेका थिए।
सारन्डन लामो समयदेखि गाजामा इजरायलको सैन्य अभियानविरुद्धका प्रदर्शनमा सहभागी हुँदै आएकी छन्। आइनबिन्डरले पनि प्यालेस्टिनी स्वतन्त्रता र गाजाको अवस्थाबारे सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै आएकी छन्।प्रदर्शनमा सारन्डन र आइनबिन्डरसहित अन्य कलाकार, स्थानीय राजनीतिज्ञ तथा अभियन्ताहरू पनि सहभागी भएका थिए। घटनामा पक्राउ परेका व्यक्तिको सङ्ख्याबारे विभिन्न स्रोतमा फरक विवरण देखिए पनि ठूलो सङ्ख्यामा प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएकोमा स्रोतहरू सहमत छन्।