काठमाडौं ।पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागमा ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै त्यसको जवाफमा अफगानिस्तानका विभिन्न १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ।
पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तारारका अनुसार आक्रमण गरिएका स्थानहरू ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्य क्षेत्र थिए। उनले पाकिस्तानले आफ्नो सार्वभौमिकताको रक्षा गर्ने क्रममा लक्षित र सीमित कारबाही गरेको दाबी गरेका छन्।पाकिस्तानले बुधबार आफ्नो हवाई क्षेत्रमा अफगानिस्तानबाट आठ वटा ड्रोन प्रवेश गरेको र ती सबैलाई खसालिएको जनाएको थियो। त्यसपछि पहिचान गरिएका सैन्य लक्ष्यलाई केन्द्रित गरेर जवाफी कारबाही गरिएको पाकिस्तानी पक्षको भनाइ छ।
यता अफगानिस्तानले भने पाकिस्तानी हवाई आक्रमणको विरोध गरेको छ। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले कुनार र पक्तिका क्षेत्रमा भएको आक्रमणमा सर्वसाधारण प्रभावित भएको दाबी गर्दै पाकिस्तानलाई त्यसको जवाफ दिने चेतावनी दिएका छन्।उनका अनुसार कुनारमा एक महिलासहित तीन नागरिकको मृत्यु भएको तथा चार जना घाइते भएका छन्। पक्तिका क्षेत्रमा केही घर तथा स्थानीय पसलमा क्षति पुगेको पनि अफगान पक्षले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन युएनएएमए का अनुसार सन् २०२६ को अप्रिलदेखि जुनसम्म पाकिस्तान–अफगानिस्तान सीमापार सशस्त्र हिंसाका घटनाबाट ३९९ सर्वसाधारण प्रभावित भएका छन्। तीमध्ये ५७ जनाको मृत्यु र ३४२ जना घाइते भएका थिए। प्रभावितमध्ये ४० महिला र ११२ बालबालिका रहेको युएनएएमएको तथ्यांकमा उल्लेख छ।युएनएएमएले उक्त अवधिमा सर्वसाधारण प्रभावित हुनुमा हवाई आक्रमण र स्थल सैन्य गतिविधिलाई प्रमुख कारणका रूपमा उल्लेख गरेको छ। यसअघि जुन २८ मा पक्तिया, पक्तिका र कुनारमा भएको हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु र ४९ जना घाइते भएको पनि युएनएएमएले जनाएको थियो।सीमापार सशस्त्र गतिविधि, ड्रोन आक्रमण र सैन्य कारबाहीका विषयमा पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय तनाव बढिरहेको छ। दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै आएका छन्।