काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका प्रमुख नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले बिहीबार जारी गरेको विशेष बाढी पूर्वानुमानअनुसार कोशी, नारायणी, कर्णाली र महाकालीसहित विभिन्न नदी प्रणालीमा आगामी पाँच दिनसम्म जलसतह बढ्ने सम्भावना रहेको छ।हाल अधिकांश ठूला नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल रहे पनि क्रमशः बढ्ने क्रममा रहने महाशाखाको आकलन छ। कोशी जलाधारअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीसँगै कन्काई तथा कमला नदीमा बिहीबारदेखि नै बहाव बढ्ने अनुमान गरिएको छ।
नारायणी, कर्णाली र महाकालीका प्रमुख नदीमा भने तत्काल सामान्य वृद्धि हुने भए पनि असोज ९ देखि १२ गतेसम्म जलसतह उल्लेख्य बढ्न सक्ने जनाइएको छ। बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबईमा पनि आगामी दिनमा पानीको बहाव बढ्ने पूर्वानुमान छ।ठूला नदीसँगै देशभरका साना नदी तथा खोलामा समेत जोखिम बढेको महाशाखाले जनाएको छ। ताप्लेजुङदेखि कालिकोटसम्मका विभिन्न जिल्लामा स्थानीय खोलानालामा आकस्मिक बाढी आउन सक्ने सम्भावना औँल्याइएको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लालाई साना नदीमा बाढीको सम्भावित जोखिम क्षेत्रका रूपमा उल्लेख गरिएको छ।लगातारको वर्षा र नदीमा बढ्दो पानीको अवस्थालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा नदी–खोला आसपासका नागरिकलाई विशेष सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ।
