काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ तीनदिने अमेरिका भ्रमणका क्रममा वासिङ्टन पुगेका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ संयुक्त सैन्य विमानस्थलमा पुगेर सी र उनकी पत्नी पेङ लियुआनलाई विशेष सम्मानसहित स्वागत गरेका छन्। सीलाई स्वागत गर्न विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो भने अमेरिकी वायुसेनाको ब्याण्ड र सैन्य विमानको फ्लाइपासहित औपचारिक स्वागत कार्यक्रम गरिएको थियो। ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले विमानस्थलमै सी दम्पतीसँग भेट गरी केही समय कुराकानीसमेत गरे।
सन् २०१५ पछि सीको यो पहिलो वासिङ्टन भ्रमण हो। तीनदिने भ्रमणका क्रममा ट्रम्प र सीबीच व्यापार, कृत्रिम बौद्धिकता (एआई), इरान युद्ध, ताइवानलगायत विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै बिहीबार सीको सम्मानमा औपचारिक रात्रिभोज आयोजना गरिनेछ। यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनबीच जारी व्यापार युद्धविरामलाई जनवरीसम्म लम्ब्याउने सहमति भएको बताएका छन्। यसअघि उक्त सम्झौता नोभेम्बर १० मा समाप्त हुने तय थियो।
सम्झौताअन्तर्गत अमेरिकाले केही चिनियाँ सामानमा लगाइएको अतिरिक्त कर घटाउने र चीनले दुर्लभ खनिजको आपूर्तिसम्बन्धी प्रतिबन्धमा केही सहजता ल्याउने व्यवस्था गरिएको थियो। दुवै देशबीच दीर्घकालीन व्यापार सम्झौताको सम्भावनाबारे पनि छलफल भइरहेको बताइएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वामार्फत जारी लिखित वक्तव्यमा सीले अमेरिका र चीन दुवै ठूला राष्ट्र भएकाले दुई देश प्रतिस्पर्धी नभई साझेदारका रूपमा अघि बढ्नुपर्ने धारणा राखेका छन्। उनले आफ्नो भ्रमणबाट सकारात्मक तथा फलदायी परिणाम आउने विश्वाससमेत व्यक्त गरेका छन्।
सीसँगै चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सदस्य काइ छी, उपप्रधानमन्त्री हे लिफेङ, विदेशमन्त्री वाङ यी लगायतका अधिकारी अमेरिका पुगेका छन्। भ्रमणका क्रममा दुवै देशबीच एआई प्रविधिमा सहकार्य तथा प्रतिस्पर्धाको विषय पनि महत्वपूर्ण बन्ने देखिएको छ। बिहीबार आयोजना हुने राजकीय रात्रिभोजमा अमेरिकी एआई क्षेत्रका प्रमुख कम्पनीका नेतृत्वकर्ताहरू सहभागी हुने बताइएको छ। सीको अमेरिका भ्रमण शुक्रबार सम्पन्न हुनेछ।