काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर पालिकास्तरीय अधिवेशनको प्रक्रिया अघि बढेको छ।
हालसम्म ५८ जिल्लाका ५१२ वटा पालिकामा अधिवेशनसम्बन्धी काम सुरु भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार पालिका अधिवेशन वडा तहको अधिवेशनभन्दा केही जटिल हुने भएकाले प्रक्रिया पूरा गर्न बढी समय लाग्ने देखिएको छ। उनका अनुसार पालिकामा विभिन्न पक्षबीच सहमति जुटाउन कठिन हुने भएकाले धेरै स्थानमा निर्वाचनमार्फत नेतृत्व चयन हुने सम्भावना छ।
कटुवालले अधिकांश पालिकामा निर्वाचन हुनसक्ने र मतदानदेखि मतगणना तथा परिणाम सार्वजनिक गर्नसम्म केही समय लाग्ने बताएका छन्। उनका अनुसार केही स्थानबाट आज साँझदेखि नै परिणाम आउन थाल्ने अपेक्षा गरिएको छ।अधिवेशन सुरु हुन बाँकी रहेका जिल्लाका पालिकामा पनि निर्वाचन समितिले तयारीलाई तीव्रता दिएको छ। प्राविधिक तथा प्रशासनिक कारणले प्रक्रिया रोकिएका स्थानमा आवश्यक तयारी पूरा गरी छिट्टै अधिवेशन सम्पन्न गर्ने काम भइरहेको समितिले जनाएको छ।कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको प्रक्रिया अघि बढेपछि अहिले पालिका तहमा नेतृत्व चयनको क्रम सुरु भएको हो।