काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङ तीनदिने राजकीय भ्रमणका लागि बुधबार अमेरिका पुगेका छन्।
एक दशकभन्दा बढी समयपछि हुन लागेको उनको पहिलो राजकीय भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष सम्मानसहित स्वागत गर्ने कार्यक्रम रहेको छ।भ्रमणका क्रममा सी र ट्रम्पबीच अमेरिका–चीन सम्बन्धसँग जोडिएका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवानजस्ता विषय वार्ताको मुख्य एजेन्डामा रहने बताइएको छ।बिहीबार ह्वाइट हाउसमा सीको औपचारिक स्वागतसँगै सैन्य सम्मान र राजकीय रात्रिभोज आयोजना गर्ने तयारी छ। उक्त रात्रिभोजमा प्रविधि क्षेत्रका विभिन्न प्रमुख व्यक्तित्व सहभागी हुने बताइएको छ।
शुक्रबार सी र उनकी पत्नी पेङ लियुआनले ट्रम्प दम्पतीसँग चिया भेट गर्ने तथा राष्ट्रिय अभिलेखालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ।यसअघि ट्रम्प चीन भ्रमणमा जाँदा सी आफैं विमानस्थलमा स्वागत गर्न पुगेका थिएनन्। चिनियाँ उपराष्ट्रपति हान झेङले उनको स्वागत गरेका थिए।यता अमेरिकी सिनेटको सशस्त्र सेवा समितिका रिपब्लिकन अध्यक्ष रोजर विकरले सीलाई दिइने स्वागतप्रति प्रश्न उठाएका छन्। उनले चीनको सैन्य विस्तार र इरानसँगको सम्बन्धलगायत विषयलाई वार्तामा प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्।अमेरिका र चीनबीच विभिन्न विषयमा मतभेद कायमै रहे पनि दुई देशका शीर्ष नेताबीचको भेटलाई सम्बन्धमा संवाद कायम राख्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।