काठमाडौं ।नेकपाका सांसद रमेश मल्लले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको क्षति यकिन गर्न स्वतन्त्र अनुगमन तथा मूल्याङ्कन आवश्यक रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रसुवा, भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत अध्ययन गर्नुपर्ने बताए। वातावरण तथा पर्यावरणमा परेको असरलाई समेत मूल्याङ्कनमा समेट्नुपर्ने उनको भनाइ छ।सांसद मल्लले यस्तो मूल्याङ्कन अन्तर्राष्ट्रिय सहयोगमा संयुक्त राष्ट्रसंघको अनुगमनसहित स्वतन्त्र रूपमा गर्न सरकारसँग आग्रह गरे।उनले बाढीबाट प्रभावित समुदायका लागि क्षति तथा नोक्सानी कोषमार्फत ऋण नभई तत्काल अनुदान उपलब्ध गराउनुपर्ने माग पनि गरे। प्रभावित पूर्वाधार पुनर्निर्माणका लागि नेपालले जलवायु वित्तमा सहज र प्रत्यक्ष पहुँच पाउन अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्नेमा उनले जोड दिए।