काठमाडौं ।नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले सरकार नागरिकका प्रश्न र आलोचनाप्रति सहिष्णु हुनुपर्ने बताएकी छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै जनताका दैनिक समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखिन्।सांसद थपलियाले सरकार गठन भएको केही समय बितिसक्दा पनि नागरिकमा निराशा देखिएको बताइन्। विगतभन्दा फरक काम गर्ने दाबीका साथ सरकारमा पुगेकाहरूले जनताका अपेक्षा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
उनले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउ प्रसंगसमेत संसद्मा उठाइन्। सरकारको आलोचना वा असहज प्रश्न राख्न पाउने अधिकार लोकतान्त्रिक व्यवस्थाको हिस्सा भएको उल्लेख गर्दै उनले वैधानिक आलोचनालाई अपराधका रूपमा व्यवहार गर्न नहुने बताइन्।त्यस्तै, उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकले भोगिरहेको पूर्वाधारसम्बन्धी समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराइन्। धादिङ र गोरखालाई जोड्ने त्रिशूली नदीमाथिको फुर्के खोलाको पक्की पुल बाढीले बगाएको लामो समय बितिसक्दा पनि पुनःनिर्माणमा पर्याप्त ध्यान नदिइएको उनको भनाइ थियो।
आगामी चाडपर्वलाई लक्षित गर्दै बजारमा हुनसक्ने मूल्यवृद्धि, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न उनले सरकारसँग आग्रह गरिन्। साथै, सम्भावित भारी वर्षा र विपद्का घटनालाई ध्यानमा राख्दै पूर्वतयारी तथा नागरिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनले बताइन्।सांसद थपलियाले सरकारका कामप्रति जनताले प्रश्न गरिरहेको भन्दै उनीहरूका अपेक्षा र गुनासोलाई सम्बोधन गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।