काठमाडौं ।दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रमलाई तत्काल पूर्ण रूपमा नष्ट गराउनेभन्दा पहिले त्यसको थप विस्तार रोक्नुपर्ने धारणा अघि सारेका छन्।
उनले यस्तो कदमका बदलामा उत्तर कोरियामाथि लगाइएका केही प्रतिबन्धमा राहत दिन अमेरिकाले विचार गर्नुपर्ने बताएका छन्।न्युयोर्क टाइम्ससँगको हालैको अन्तर्वार्तामा राष्ट्रपति लीले उत्तर कोरियाको पूर्ण आणविक निशस्त्रीकरणलाई दीर्घकालीन लक्ष्यका रूपमा राख्दै तत्कालका लागि आणविक हतियार र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रविधिको थप विकास रोक्नुपर्ने बताएका हुन्। उनका अनुसार हालको अवस्थामा सुरुदेखि नै पूर्ण निशस्त्रीकरणलाई वार्ताको अनिवार्य सर्त बनाउँदा ठोस प्रगति गर्न कठिन हुन्छ।
लीले सन् २०२५ मा राष्ट्रपति पद सम्हालेपछि उत्तर कोरियासँग पूर्वसर्तबिनै संवाद गर्नुपर्ने धारणा राख्दै आएका छन्। तर प्योङयाङबाट उनका संवादका प्रस्तावमा अहिलेसम्म सकारात्मक औपचारिक प्रतिक्रिया आएको छैन।उत्तर कोरियाले संयुक्त राष्ट्रसंघका प्रतिबन्ध सामना गरिरहे पनि आफ्नो आणविक क्षमता विस्तार गर्दै आएको छ। राष्ट्रपति लीले नयाँ आणविक हतियार उत्पादन र आणविक तथा क्षेप्यास्त्र प्रविधिको थप विकास रोक्न सक्नु तत्कालका लागि महत्वपूर्ण उपलब्धि हुने बताएका छन्।
लीको प्रस्तावमा उत्तर कोरियामाथिका प्रतिबन्धलाई आणविक कार्यक्रम रोक्ने कदमसँग साट्न सकिने विचार समेटिएको छ। उनले यस्तो आदानप्रदानलाई व्यावहारिक विकल्पका रूपमा प्रस्तुत गरेका छन्।तर आलोचकहरूले भने आणविक कार्यक्रम स्थिर राख्ने सम्झौताले उत्तर कोरियालाई अप्रत्यक्ष रूपमा आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा स्वीकार गर्ने जोखिम बढाउन सक्ने बताएका छन्। साथै, प्योङयाङले आफ्नो मौजुदा आणविक हतियार नत्यागी प्रतिबन्धमा राहत पाउने अवस्था सिर्जना हुन सक्ने उनीहरूको तर्क छ।
यसबीच उत्तर कोरियाले चीन र रुससँग आफ्नो सम्बन्धलाई निरन्तर बलियो बनाइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनलाई तीनपटक भेटेका थिए। तर सन् २०१९ को हनोई शिखर वार्तामा प्रतिबन्ध हटाउने विषय र आणविक निशस्त्रीकरणबारे सहमति बन्न नसकेपछि वार्ता प्रक्रिया रोकिएको थियो।राष्ट्रपति लीले अहिले चरणबद्ध उपायमार्फत आणविक समस्या समाधान गर्ने धारणा अघि सारेका छन्।