काठमाडौँ ।अमेरिका–इजरायलसँग जारी युद्धको असर इरानको अर्थतन्त्रमा गहिरिँदै गएको छ।
सरकारी तथ्यांकअनुसार चालु फारसी वर्षको पहिलो तीन महिनामा इरानको कुल गार्हस्थ्य उत्पादन जीडीपी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले घटेको छ।मार्च २१ देखि जुन २० सम्मको अवधिमा देखिएको यो गिरावट युद्धका प्रारम्भिक महिनासँग सम्बन्धित छ। युद्धका कारण इरानको अर्थतन्त्रको प्रमुख आधार मानिने तेल तथा ग्यास उद्योग सबैभन्दा बढी प्रभावित भएको तथ्यांकले देखाएको छ।इरानको तथ्याङ्क केन्द्रका अनुसार उक्त अवधिमा कच्चा तेल र प्राकृतिक ग्यास उत्पादनसँग सम्बन्धित क्षेत्र २६.४ प्रतिशतले संकुचित भएको छ। तेल क्षेत्रलाई हटाएर हेर्दा पनि इरानी अर्थतन्त्रको जीडीपी ४.६ प्रतिशतले घटेको देखिन्छ।अन्य आर्थिक क्षेत्र पनि दबाबमा परेका छन्। उद्योग तथा खानी क्षेत्र १४.७ प्रतिशत, सेवा क्षेत्र ४.८ प्रतिशत र उत्पादनमूलक उद्योग २.५ प्रतिशतले खुम्चिएका छन्। कृषि क्षेत्र भने तुलनात्मक रूपमा वृद्धि भएको छ। सो अवधिमा कृषि उत्पादन २.३ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।
तेल निर्यातमा ठूलो धक्का
इरानको आर्थिक गतिविधिमा आएको गिरावटसँगै तेल निर्यात पनि प्रभावित भएको छ। अमेरिकी नौसैनिक नाकाबन्दीका कारण इरानलाई अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल पठाउन कठिन भएको बताइएको छ।उपलब्ध तथ्यांकअनुसार मार्चमा इरानबाट दैनिक करिब २० लाख ब्यारेल कच्चा तेल तथा कन्डेन्सेट लोड हुने गरेकोमा जुलाईमा यो मात्रा करिब ७ लाख ४० हजार ब्यारेलमा झरेको थियो। अगस्टमा भने दैनिक लोडिङ २ लाख २० हजारदेखि २ लाख ५५ हजार ब्यारेलको आसपासमा सीमित भएको थियो।ट्यांकरट्र्याकर्सको तथ्यांकअनुसार करिब ३ करोड ६१ लाख ब्यारेल कच्चा तेल बोकेका २९ वटा ट्यांकर स्ट्रेट अफ होर्मुज क्षेत्रमा रोकिएका थिए। यस्तै, भोर्तेक्साका अनुसार जुलाईको अन्त्यमा समुद्रमा रहेको इरानी कच्चा तेलको भण्डार १३ करोड ५० लाख ब्यारेल थियो। अगस्टको अन्त्यसम्म यो घटेर करिब १० करोड ७० लाख ब्यारेलमा आएको थियो।
महँगी र कमजोर बन्दै रियाल
युद्ध सुरु हुनुअघि नै इरानी अर्थतन्त्र विभिन्न चुनौतीसँग जुधिरहेको थियो। पछिल्लो १२ महिनाको औसत मुद्रास्फीति दर ६९.९ प्रतिशत पुगेको तथ्यांक छ। खाद्यान्न, पेय पदार्थ तथा सुर्तीजन्य वस्तुको मूल्यवृद्धि भने समग्र मुद्रास्फीतिभन्दा निकै माथि पुगेको थियो।वसन्त ऋतुमा इरानको आधिकारिक बेरोजगारी दरसमेत बढेर ९.१ प्रतिशत पुगेको थियो।अर्कोतर्फ, इरानी मुद्रा रियालको मूल्यमा तीव्र गिरावट आएको छ। एक वर्षअघि एक अमेरिकी डलरका लागि करिब १० लाख रियाल आवश्यक पर्ने गरेकोमा सेप्टेम्बरको सुरुआतसम्म डलरको मूल्य २२ लाख रियालभन्दा माथि पुगेको थियो।
अन्तर्राष्ट्रिय व्यापार पनि प्रभावित
युद्धको प्रभाव इरानको बाह्य व्यापारमा पनि परेको छ। राष्ट्रपति मसुद पेजेस्कियनका अनुसार सेप्टेम्बर ६ सम्म इरानको समग्र व्यापार कारोबार २५ देखि ३५ प्रतिशतसम्म घटेको थियो।आयाततर्फको प्रभाव निर्यातको तुलनामा अझ ठूलो रहेको बताइएको छ। स्ट्रेट अफ होर्मुज क्षेत्रमा लगाइएको अमेरिकी नाकाबन्दीका कारण आयातित सामान बोकेका पानीजहाजलाई इरानी बन्दरगाहसम्म पुग्न समस्या भएको छ।इरानले युद्ध अन्त्यका विषयमा आर्थिक मागलाई समेत प्राथमिकतामा राखेको छ। इरानी सुरक्षा अधिकारी मोहसेन रेजाइले युद्ध रोक्नका लागि रोक्का गरिएको इरानी रकम फुकुवा र नौसैनिक नाकाबन्दी हटाउनुपर्ने सर्त अघि सारिएको बताएका छन्।यसैबीच अमेरिकाले इरानमाथि आर्थिक दबाबलाई थप कडा बनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानका अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय गतिविधिलाई लक्षित गर्ने अभियान घोषणा गरेका थिए। इरानको तेलसहित विभिन्न आम्दानीका स्रोतमा असर पार्ने र तेहरानसँग कारोबार गर्ने विदेशी कम्पनी तथा मुलुकलाई निरुत्साहित गर्ने अमेरिकी नीति रहेको बताइएको छ।
आर्थिक दबाबले कति असर गर्ला
बजार विश्लेषक क्रिस बिच्याम्पका अनुसार युद्धको परिणाम केवल सैन्य क्षमताले मात्र निर्धारण हुँदैन। लामो समयसम्म आर्थिक तथा अन्य दबाब सामना गर्न सक्ने क्षमताले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ।उनका अनुसार इरानको जीडीपीमा देखिएको १०.१ प्रतिशतको गिरावटले अमेरिकी आर्थिक दबाबको प्रभाव स्पष्ट देखाएको छ। तर इरानले आफ्नो आर्थिक गतिविधिमा आएको क्षतिलाई अमेरिकाले ऊर्जा लागतमा भइरहेको वृद्धिको असरभन्दा कति लामो समयसम्म धान्न सक्छ भन्ने विषय महत्वपूर्ण हुने उनको विश्लेषण छ।तर आर्थिक क्षतिको असर इरानको राजनीतिक निर्णयमा कति पर्छ भन्ने कुरा आर्थिक सूचकांकबाट मात्र निष्कर्ष निकाल्न नसकिने विश्लेषण पनि भइरहेको छ। सुरक्षा संयन्त्र सरकारप्रति वफादार रहँदासम्म आर्थिक संकटले सरकारका राजनीतिक निर्णयमा सीमित प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।
युद्ध रोक्न कूटनीतिक पहल जारी
लामो समयदेखि जारी युद्ध अन्त्यका लागि कूटनीतिक तहमा पनि पहल भइरहेको छ। इरानले अमेरिका र उसका सहयोगीबाट आएको सैन्य तथा आर्थिक दबाबको सामना गरिरहेको भए पनि वार्ताको सम्भावनालाई पूर्ण रूपमा बन्द गरेको छैन।शनिबार मोहसेन रेजाइले कतारका मध्यस्थमार्फत अमेरिकासमक्ष युद्ध अन्त्यसम्बन्धी इरानका औपचारिक सर्त पठाइएको बताएका थिए।यता पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वी तेहरान भ्रमणमा जाने तयारीमा रहेको इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएले जनाएको छ। यद्यपि भ्रमणको निश्चित मिति र उद्देश्यबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन।कतार र पाकिस्तानले अमेरिका–इरान वार्ता पुनः सुरु गराउन मध्यस्थताको प्रयास गरिरहेका छन्। दुई देशबीचको समझदारीसम्बन्धी व्यवस्था गत महिना समाप्त भएपछि वार्तालाई पुनः अघि बढाउने प्रयास भइरहेको बताइएको छ।इरानी विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने क्रममा कतारमा छोटो समय रोकिने आईआरएनएले जनाएको छ।
यससँगै आगामी दिनमा अमेरिका र इरानबीच पुनः वार्ता सुरु हुने सम्भावना कायम रहेको देखिन्छ। रिपब्लिकन रणनीतिकार तथा ह्वाइट हाउस र राष्ट्रिय सुरक्षा मामिलाका पूर्व अधिकारी मार्क फाइफ्लेका अनुसार दुवै पक्ष सम्झौताको सम्भावना खोजिरहेका छन्।उनका अनुसार इरानले पछिल्लो समय अघि सारेका सर्तमा नाकाबन्दी हटाउने, रोक्का गरिएको रकम फुकुवा गर्ने र सैन्य आक्रमण रोक्ने विषय छन्। तर युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा पुनर्निर्माणका लागि थप रकमको माग भने ती सर्तमा उल्लेख नभएको उनको भनाइ छ। यसले कडा सार्वजनिक अभिव्यक्तिबीच पनि आगामी साताहरूमा वार्ताका लागि केही सम्भावना बाँकी रहेको संकेत गर्न सक्ने उनको विश्लेषण छ।