काठमाडौं ।अमेरिकाले इरानमाथि पुनः सैन्य कारबाही गरे त्यसको जवाफ नयाँ लक्ष्य र नयाँ क्षमताका हतियारमार्फत दिने इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स आईआरजीसी ले चेतावनी दिएको छ।
आईआरजीसीका प्रवक्ताले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकाबाट थप आक्रमण भए इरानको प्रतिरक्षा तथा जवाफी कारबाहीको स्वरूप परिवर्तन हुने बताएका छन्। उनका अनुसार इरानी सेनाले युद्धमा नयाँ क्षमतासहितका हतियार प्रयोग गर्ने तयारी गरेको छ।इरानी पक्षले यसपटक आफ्ना सम्भावित लक्ष्यहरू विगतका आक्रमणमा समेटिएका स्थानभन्दा फरक हुने संकेतसमेत दिएको छ। गार्ड्सका अनुसार उनीहरूसँग अहिलेसम्म आक्रमण नगरिएका नयाँ लक्ष्य पहिचान भइसकेका छन् र आवश्यक परे लामो समयसम्म युद्ध जारी राख्न आफूहरू तयार छन्।
इरानी सरकारी टेलिभिजनका अनुसार शनिबार सेनाको केन्द्रीय कमाण्डले अमेरिकाले तेहरानविरुद्ध अर्को सैन्य कारबाहीको तयारी गरिरहेको दाबी गरेको थियो। यद्यपि त्यसबारे थप विवरण सार्वजनिक गरिएको छैन।पछिल्लो समय अमेरिका र इरानबीचको सैन्य तनाव केही कम देखिए पनि सम्बन्धमा गतिरोध कायमै रहेको बताइएको छ। होर्मुज जलमार्गमा व्यावसायिक जहाजलाई लक्षित गरी छिटपुट आक्रमणका घटना भइरहेको र दुवै पक्षले दबाब बढाउने प्रयास जारी राखेको विवरणहरू सार्वजनिक भएका छन्।यसैबीच, क्षेत्रीय तनाव यमनसम्म समेत फैलिएको छ। इरानसमर्थित हुथी समूह र साउदीसमर्थित पक्षबीचको द्वन्द्व तथा आक्रमणका घटनाले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ।