काठमाडौं ।विश्वभर सम्भावित महामारीको सामना गर्न आवश्यक तयारी अझै पर्याप्त नभएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय बैठक सुरु हुनुअघि सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले महामारी रोकथाम, पूर्वतयारी र प्रभावकारी प्रतिकार्यका लागि विश्व समुदायले आफ्नो प्रतिबद्धता व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।गेब्रेयससले विश्व महामारीको जोखिमका लागि अझै कमजोर अवस्थामा रहेको उल्लेख गर्दै आगामी दिनमा तयारी र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। उनले महामारी सम्झौताअन्तर्गत रोगजन्य सामग्रीमा पहुँच तथा त्यसबाट प्राप्त लाभको समान बाँडफाँटसँग सम्बन्धित आवश्यक प्रक्रिया पूरा गर्न पनि आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत सेप्टेम्बर २२ देखि २८ सम्म उच्चस्तरीय आमबहस हुँदैछ। यस अवधिमा महामारीसँगै विश्वव्यापी द्वन्द्व, विकास, जलवायु परिवर्तन र मानवीय संकटजस्ता विषयमा छलफल हुने कार्यक्रम छ।महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्यबारे उच्चस्तरीय बैठक सेप्टेम्बर २५ मा आयोजना हुने बताइएको छ। महासभाको ८१औँ सत्रको अध्यक्षता बंगलादेशका खलिलुर रहमानले गरिरहेका छन्।