काठमाडौं ।संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा कांग्रेस नेताहरूले नेपालका पछिल्ला विपद्, जलवायु परिवर्तन र हिमाली क्षेत्रका समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।सोमबार भएको भेटमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र पार्टी सभापति गगनकुमार थापासहितका नेताहरू सहभागी थिए। शर्माका अनुसार कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा तयार पारेको अवधारणासमेत प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरिएको छ।
भेटमा संयुक्त राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट उठाउनुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयबारे छलफल भएको बताइएको छ। विशेषगरी भोटेकोशी क्षेत्रमा भएको विनाशकारी विपद्लाई विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेताहरूले जोड दिएका थिए।शर्माका अनुसार नेपालले भोगिरहेको जलवायु संकटलाई विश्वका अन्य मुलुकले पनि आफ्नै समस्यासँग जोडेर बुझ्ने वातावरण बनाउनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ। नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा अत्यन्त न्यून योगदान गरे पनि जलवायुजन्य विपद्को ठूलो असर भोगिरहेको विषयलाई तथ्य र प्रमाणसहित प्रस्तुत गर्नुपर्ने कांग्रेसको धारणा छ।
त्यस्तै, हिमाली क्षेत्रमा बढ्दै गएको जलवायु जोखिमलाई अन्तर्राष्ट्रिय बहसको विषय बनाउनुपर्ने र ‘हिमाल जोगिए मात्रै विश्व जोगिन्छ’ भन्ने सन्देश विश्व समुदायसमक्ष पुर्याउनुपर्नेमा पनि जोड दिइएको छ।कांग्रेस नेताहरूले पेरिस सम्झौताको कार्यान्वयन, जलवायु वित्त, विपद् न्यूनीकरण तथा हिमाली राष्ट्रका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने विषयमा प्रभावकारी कूटनीतिक पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
भोटेकोशी विपद्मा ज्यान गुमाएका नागरिक, अझै आफन्तको पहिचानको प्रतीक्षामा रहेका परिवार तथा प्रभावित समुदायको मानवीय अवस्थालाई समेत महासभाको मञ्चमा प्रस्तुत गर्नुपर्ने सुझाव दिइएको छ।प्रधानमन्त्रीको महासभा सम्बोधनसँगै विभिन्न देशका नेताहरूसँग हुने द्विपक्षीय भेटवार्ता र साइडलाइन छलफलमार्फत नेपालका प्राथमिकता तथा जलवायु संकटका विषयमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्ने कांग्रेस नेताहरूको भनाइ छ। प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा न्यूयोर्क जाने र सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सार्वजनिक विवरणमा उल्लेख छ।