काठमाडौँ।पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ पीटीआई का संस्थापक इमरान खानकी बहिनी अलिमा खानलाई लाहोरमा प्रहरीले नियन्त्रणमा लिएको छ।
पीटीआईका अनुसार उनलाई आगामी सेप्टेम्बर २७ मा तय गरिएको विरोध प्रदर्शनअघि पक्राउ गरिएको हो।लाहोरका डेपुटी कमिसनरले पञ्जाबको मेन्टेनेन्स अफ पब्लिक अर्डर एमपीओ कानुनअन्तर्गत अलिमालाई ३० दिन हिरासतमा राख्ने आदेश दिएका छन्। उनलाई लाहोरस्थित कोट लखपत जेलमा पठाइएको पुष्टि गरिएको छ।
प्रशासनले अलिमाले सामाजिक सञ्जाल तथा सार्वजनिक गतिविधिमार्फत पीटीआई समर्थकलाई प्रदर्शनका लागि परिचालन गरिरहेको र उनको गतिविधिले सार्वजनिक शान्ति तथा सुरक्षामा असर पर्न सक्ने दाबी गरेको छ। आदेशमा विगतका विरोध प्रदर्शनसँग सम्बन्धित आरोप तथा सार्वजनिक व्यवस्था बिग्रन सक्ने जोखिमलाई पनि आधार बनाइएको उल्लेख छ।अलिमाको पक्राउपछि पीटीआईले सरकारको कदमको विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ। उनका छोरा शहरेज खानले समेत आमाको अवस्थाबारे परिवारलाई जानकारी दिन र उनको सुरक्षित फिर्ता सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
यो गिरफ्तारी पीटीआईले इमरान खानको रिहाइको माग गर्दै सेप्टेम्बर २७ मा आयोजना गर्न लागेको देशव्यापी प्रदर्शन तथा इस्लामाबादतर्फको मार्चको तयारी भइरहेका बेला भएको हो। सरकारले भने प्रदर्शनका क्रममा सार्वजनिक शान्ति र सुरक्षामा असर पार्ने गतिविधि हुन नदिने बताउँदै आएको छ।इमरान खान सन् २०२३ देखि जेलमा छन् र उनीविरुद्ध विभिन्न मुद्दामा सजाय तथा कानुनी प्रक्रिया जारी छन्। उनले आफूमाथिका आरोपलाई राजनीतिक प्रतिशोधका रूपमा अस्वीकार गर्दै आएका छन्। पछिल्लो घटनाक्रमसँगै पीटीआई र सरकारबीचको राजनीतिक तनाव थप चर्किएको छ।