काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशमा वडा अधिवेशनको प्रक्रिया जारी छ।
शनिबार र आइतबारभित्र सबै वडामा अधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार हालसम्म करिब ७५ प्रतिशत वडामा अधिवेशन सकिएको प्रदेश सभापति ललितजङ शाहीले बताएका छन्।उनका अनुसार अधिकांश वडामा अधिवेशनको काम अघि बढिरहेको छ र बाँकी वडामा पनि निर्धारित समयभित्र प्रक्रिया पूरा गर्ने तयारी भइरहेको छ।कर्णाली कांग्रेस केही समयअघि आन्तरिक रूपमा दुई समूहमा विभाजित देखिए पनि वडा अधिवेशन सुरु हुने बेलासम्म नेताहरूबीचको दूरी केही घटेको देखिएको छ। विभिन्न समूहमा रहेका नेताहरू अहिले वडा अधिवेशनको प्रक्रियामा सहभागी भइरहेका छन्।
पूर्वमन्त्री पूर्णबहादुर खड्काले आफू कुनै पक्षमा नखुलेको बताए पनि उनीनिकट मानिएका नेताहरू भने अधिवेशनको तयारी र प्रतिनिधि छनोटमा सक्रिय देखिएका छन्। पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश सभापति ललितजङ शाहीलगायत नेताहरू वडा अधिवेशनमा खटिएका छन्।यसैगरी, यसअघि शेखर कोइराला पक्षसँग नजिक मानिएका धेरै नेता पनि अधिवेशन प्रक्रियामा सहभागी भएका छन्। देउवा पक्षमा रहेका केही नेताहरू पनि आफ्नो समूहअनुसार सक्रिय छन्।
यता युवा नेता भूपेन्द्रजङ शाहीले भने सहमतिबिना अधिवेशन अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सहमति कायम गरेर मात्र अधिवेशन अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।कर्णालीका विभिन्न जिल्लामा पूर्वमन्त्री, सांसद तथा पार्टीका नेताहरू वडा अधिवेशनबाट प्रतिनिधिका रूपमा चयन भइसकेका छन्। यससँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि कर्णालीमा प्रतिनिधि छनोटको प्रक्रिया पनि अघि बढिरहेको छ।