काठमाडौं ।इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा यूएनजीए मा सहभागी हुनु आफ्नो कानुनी अधिकार भएको दाबी गरेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार राज्य सञ्चालित टेलिभिजन आईआरआईबीसँगको कुराकानीमा न्यूयोर्कमा हुने महासभामा इरानको सहभागिता कुनै मुलुकले दिने सुविधा वा कृपा नभएको बताएका छन्।बघाईका अनुसार न्यूयोर्क जानु इरानी प्रतिनिधिमण्डलका लागि विशेष आकर्षणको विषय नभए पनि महासभा अन्तर्राष्ट्रिय रूपमा महत्वपूर्ण मञ्च भएकाले इरानले त्यसलाई छाड्न नहुने बताएका छन्।
उनले इरान संयुक्त राष्ट्रसंघका ५० संस्थापक सदस्य राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै महासभामा सहभागी हुनु आफ्नो देशको कानुनी अधिकार भएको स्पष्ट पारे।इरानी प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनबाट रोक्न विभिन्न प्रयास भइरहेको आरोपसमेत बघाईले लगाएका छन्। उनका अनुसार अवरोध र नकारात्मक प्रचारका बाबजुद इरान आफ्नो धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने अधिकारबाट पछि हट्ने छैन।
उनले महासभामा सहभागी भएर इरानी जनता र देशको आधिकारिक अडान विश्व समुदायसमक्ष प्रस्तुत गर्नु आफ्नो दायित्व भएको बताएका छन्।यसैबीच, अमेरिकी विदेश मन्त्रालयले इरानको मुख्य प्रतिनिधिमण्डललाई यूएनजीएमा सहभागी हुन भिसा उपलब्ध गराउने जनाएको छ। अमेरिकी पक्षका अनुसार संयुक्त राष्ट्रसंघको आयोजक राष्ट्रका रूपमा आफ्नो दायित्व पूरा गर्ने क्रममा यस्तो निर्णय गरिएको हो।अमेरिकाले यस वर्ष महासभामा सहभागी हुने इरानी प्रतिनिधिमण्डल गत वर्षको तुलनामा सानो आकारको हुने जानकारीसमेत दिएको छ।