काठमाडौं । रुसको राजधानी मस्को आसपासको क्षेत्रमा युक्रेनले गरेको भनिएको ठूलो ड्रोन हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
रुसी अधिकारीहरूले रातभर भएको हमलामा सयौँ ड्रोन खसालेको दाबी गरेका छन्। मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार सोफिनोमा ड्रोनले तीनतले आवासीय भवनमा प्रहार गर्दा ४४ वर्षीया महिलाको मृत्यु भएको छ। अर्का एक वृद्धको पनि निजी घरमा ड्रोन प्रहारपछि ज्यान गएको बताइएको छ। मस्कोमा रहेको तेल प्रशोधन केन्द्रमा समेत क्षति पुगेको र केही आवासीय भवन तथा गोदाममा आगलागी भएको अधिकारीहरूले जनाएका छन्।
दुई विमानस्थलमा उडान प्रतिबन्ध लगाइएको छ। यता, युक्रेनका अधिकारीहरूले शनिबार रुसी हमलामा किभ र सुमी क्षेत्रमा सात जनाको मृत्यु भएको बताएका छन्। किभ क्षेत्रमा एक आमा र उनका दुई साना छोराछोरीको मृत्यु भएको दाबी गरिएको छ। रुस र युक्रेनबीच पछिल्लो समय ऊर्जा, यातायात तथा महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्दै ड्रोन र मिसाइल हमला तीव्र हुँदै गएको छ। दुवै पक्षका दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको छ।