काठमाडौं ।अमेरिकी सेनाले लागुऔषध तस्करीविरुद्ध सञ्चालन गरिरहेको अभियानका क्रममा क्यारिबियन सागरमा एउटा संदिग्ध डुङ्गामाथि आक्रमण गरेको छ ।
शनिबार गरिएको उक्त कारबाहीमा चार जनाको मृत्यु भएको जनाइएको छ ।अमेरिकी प्रशासनले ल्याटिन अमेरिकामा लागुऔषध तस्करीमा संलग्न समूहलाई लक्षित गर्दै सैन्य अभियान अघि बढाइरहेको छ । पछिल्लो घटनासँगै यस्ता कारबाहीमा ज्यान गुमाउनेको संख्या कम्तीमा २३१ पुगेको बताइएको छ । पूर्वी प्रशान्त महासागर र क्यारिबियन सागरमा गरी ६९ वटा आक्रमण भइसकेको विवरण सार्वजनिक गरिएको छ ।
अमेरिकी दक्षिणी कमाण्डका अनुसार लागुऔषध तस्करीका लागि प्रयोग हुने समुद्री मार्गमा संदिग्ध गतिविधि देखिएपछि डुङ्गालाई लक्षित गरिएको हो । तर, उक्त डुङ्गामा वास्तवमै लागुऔषध रहेको पुष्टि गर्ने प्रमाण भने सेनाले सार्वजनिक गरेको छैन ।दक्षिणी कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको भिडियोमा समुद्रमा अघि बढिरहेको एउटा डुङ्गा देखिन्छ । त्यसपछि भिडियोमा समुद्रमा ठूलो चम्किलो प्रकाश देखिएको छ ।
यसैबीच, अमेरिकी प्रशासनले ल्याटिन अमेरिकी मुलुकहरूसँग सहकार्य गर्दै लागुऔषध तस्करीविरुद्धको सैन्य अभियान थप विस्तार गर्ने प्रयास गरिरहेको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पानामा भ्रमणका क्रममा कोलम्बिया, ग्वाटेमाला र होन्डुरसले अमेरिकी सेनासँग संयुक्त रूपमा आपराधिक समूहविरुद्ध कारबाही गर्न सहमति जनाएको दाबी गरेका थिए । तर, ग्वाटेमालाले भने त्यस्तो सम्झौता भएको कुरा अस्वीकार गरेको छ ।
इक्वेडरले भने यसअघि नै अमेरिकासँग सहकार्य गर्दै यस्तै प्रकृतिको सैन्य अभियान सञ्चालन गरिसकेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकामा सक्रिय लागुऔषध गिरोहसँग अमेरिकाले सशस्त्र द्वन्द्व गरिरहेको बताएका छन् । अमेरिकामा लागुऔषध भित्रिने क्रम तथा त्यसबाट हुने मानवीय क्षति रोक्न सैन्य कारबाही आवश्यक रहेको उनको दाबी छ ।तर, अमेरिकी प्रशासनले कारबाहीमा मारिएका व्यक्तिहरू लागुऔषध तस्करीमा संलग्न रहेको पुष्टि गर्ने विस्तृत प्रमाण सार्वजनिक नगरेको विषयमा प्रश्न उठ्दै आएको छ ।