काठमाडौं ।बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा आठ जना कामदार घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि उनीहरूलाई भारतको लखनउ पठाइएको छ।प्रहरीका अनुसार आज बिहान करिब ५ः४० बजे उद्योगभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भएपछि आगलागी भएको हो। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ।आगलागीमा बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन्। उनीहरूलाई सुरुमा उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो। घाइतेमध्ये शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचार आवश्यक भएपछि बिहान ८ः४५ बजे भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ। बाँकी छ जनाको अवस्था सामान्य रहेको छ।
आगलागीको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको संयुक्त प्रयासमा बिहान ८ः१५ बजे आगो नियन्त्रणमा लिइएको हो।आगलागीबाट उद्योगमा भएको भौतिक तथा आर्थिक क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।