काठमाडौं । व्यापारिक प्रयोजनका लागि रकम आवश्यक परेको भन्दै बैंकका कर्मचारीलाई विश्वासमा लिएर लाखौँ रुपैयाँ ठगी गरेको आरोप सार्वजनिक भएको छ।
रौतहटको महागढीमाई नगरपालिका–बरियारपुर घर भई हाल बाराको कोल्वीमा ‘कुनाल एन्ड मुनाल इन्टरप्राइजेज’ नामक पेट्रोल पम्प सञ्चालन गर्दै आएका राकेश सहनी र रुपाकुमारीमाथि योजनाबद्ध रूपमा रकम असुल गरेको पीडित पक्षले आरोप लगाएको छ।पीडित पक्षका अनुसार सहनी दम्पतीले नबिल बैंकमा कार्यरत कर्मचारी नीरज गुप्तासँग बैंकमै भएको पुरानो चिनजानको सम्बन्धलाई प्रयोग गरी रकम जुटाउन लगाएका थिए। पेट्रोल पम्प खरिद गर्न लागेको र त्यसका लागि बैंकबाट ५५ लाख रुपैयाँ कर्जाको प्रक्रिया अघि बढेको भन्दै उनीहरूले गुप्तालाई विश्वासमा लिएका थिए।
कर्जा स्वीकृत हुन समय लाग्ने भन्दै तत्काल बजारबाट रकम मिलाइदिन आग्रह गरेपछि गुप्ताले आफ्ना साथीभाइ तथा शुभचिन्तकसँग समन्वय गरेर रकम जुटाउन सहयोग गरेको बताइएको छ।पीडित रोहित वर्णवालका अनुसार २०८१ जेठ २३ गते ‘गुड फर पेमेन्ट’ मार्फत ३९ लाख रुपैयाँ कुनाल एन्ड मुनाल इन्टरप्राइजेजका तत्कालीन सञ्चालक रामपुकार सहनीको खातामा जम्मा गरिएको थियो। उक्त रकमको सुरक्षाका लागि सहनी पक्षले बैंकको चेक र ब्याजसमेत उपलब्ध गराउने आश्वासन दिएको पीडितको भनाइ छ।
तर, बैंकबाट कर्जा स्वीकृत भएर रकम खातामा आएपछि आफूहरूले पाएको चेक साट्न बैंक पुग्दा खाता बन्द भइसकेको र चेकमा भएको हस्ताक्षरसमेत परिवर्तन गरिएको पाइएको पीडित पक्षले जनाएको छ। त्यसपछि रकम फिर्ताका लागि सहनीसँग सम्पर्क गर्दा विभिन्न बहाना बनाएर थप ३ लाख र २ लाख रुपैयाँसमेत लिएको उनीहरूको आरोप छ।सावाँ तथा ब्याज फिर्ता माग्न थालेपछि सहनी दम्पतीले उल्टै झूटा मुद्दामा फसाइदिने, जागिर खाइदिने र मानमर्दन गर्ने धम्की दिएको पीडित पक्षको दाबी छ।
घटनामा आफ्नो कुनै गलत नियत नरहेको र चिनजान तथा व्यावसायिक विश्वासका आधारमा रकम जुटाउन सहयोग गर्दा आफू नै आर्थिक तथा कानुनी समस्यामा परेको बैंक कर्मचारी नीरज गुप्ताले बताएका छन्। उनले घटनाको निष्पक्ष छानबिन र सुरक्षाको माग गर्दै २०८३ साल साउन ७ गते गृह मन्त्रालयमा चलानी नम्बर ६२७ मार्फत औपचारिक निवेदन दर्ता गराएको जनाइएको छ।पीडित पक्षले घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी रकम असुली तथा धम्कीसम्बन्धी आरोपको सत्यतथ्य पत्ता लगाउन र दोषी देखिए प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेको छ।