काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता नष्ट गरिसकेको दाबी गर्दै अझै केही रणनीतिक स्थलमा आक्रमण गर्न बाँकी रहेको बताएका छन्।
उनले इरानमा रहेको ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थल पनि अमेरिकी निशानामा रहेको उल्लेख गरेका छन्।शनिबार फ्लोरिडास्थित आफ्नो निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यदेखि सुरु गरेको सैन्य अभियान अन्त्य गर्ने विषयमा इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका हुन्। यद्यपि, इरानको प्रतिबद्धतामाथि पूर्ण विश्वास गर्न नसकिने उनको भनाइ छ।
ट्रम्पले अमेरिका तत्काल थप सैन्य कारबाहीमा जान हतारमा नरहेको स्पष्ट पार्दै इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्याइसकेको दाबी गरे। बाँकी रहेका एक वा दुईवटा स्थलमा आवश्यक परे छोटो समयमै आक्रमण गर्न सकिने उनको चेतावनी छ।उनले विशेष रूपमा ‘पिकएक्स माउन्टेन’को उल्लेख गर्दै उक्त स्थान भूमिगत आणविक संरचना हुन सक्ने आशङ्का व्यक्त गरे। तर, इरानले भने उक्त क्षेत्रमा आणविक गतिविधि भइरहेको भन्ने दाबी अस्वीकार गर्दै आएको छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानमाथि थप आक्रमण गर्ने विषयमा राष्ट्रपति ट्रम्पले कुनै निर्णय नगरेको बताएका छन्। उनले कूटनीतिक माध्यमबाटै विवाद समाधान गर्ने अमेरिकी चाहना रहेको पनि स्पष्ट पारे।अर्कोतर्फ, ट्रम्पले आगामी अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि थप सैन्य कारबाही हुन सक्ने सङ्केत गरेका छन्। यसबीच इरानका सर्वोच्च नेताले अमेरिका र इजरायललाई पुनः आक्रमण नगर्न चेतावनी दिएका छन्।युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहे पनि दुवै पक्षका पछिल्ला अभिव्यक्तिले अमेरिका–इरान तनाव अझै कायम रहेको सङ्केत गरेका छन्।