काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बिहीबार आयोजित कार्यक्रममा उनीहरूलाई शपथ गराइएको हो।शपथ ग्रहणसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेको छ। यसपटक निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने र पदबहाली गराउने प्रक्रिया एकैसाथ अघि बढाइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम अघिल्ला अधिवेशनभन्दा फरक ढाँचामा सम्पन्न गरिएको हो। नवनिर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरणसँगै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन्।
सभापति थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका थिए। त्यसैले बिहीबार आयोजित कार्यक्रममा सभापतिबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका हुन्।असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम परिणाम असोज ३० गते सार्वजनिक गरिएको थियो। उक्त निर्वाचनबाट विभिन्न पदमा नयाँ नेतृत्व चयन भएको थियो।महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला चयन भएका थिए।
निर्वाचन समितिका अनुसार २२९ पदका लागि भएको निर्वाचनमा ७ हजार ३९२ मतदाताको मतगणना एक साताभित्र सम्पन्न गरिएको थियो। निर्वाचन प्रक्रियामा झन्डै एक लाख ६२ हजार मतपत्र गणना गरिएको समितिले जनाएको छ।