काठमाडौं ।मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, जनता समाजवादी पार्टी ( जसपा ) नेपाल र जनमत पार्टीबीच राजनीतिक छलफल सुरु भएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारबाट एमालेले गत असोज २५ गते समर्थन फिर्ता लिएपछि नयाँ सत्ता समीकरणको प्रयास अघि बढेको हो।जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवले तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा भने अहिलेसम्म सहमति जुट्न सकेको छैन।एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा र जनमतका नेताहरूसँग सरकार गठनबारे संवाद भइरहेको बताएका छन्। चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्याउने तयारी रहेको उनको भनाइ छ।
नयाँ राजनीतिक समीकरणको चर्चा सुरु भएसँगै तीनवटै दलले प्रदेश सरकारको नेतृत्वमा दाबी गरिरहेका छन्। प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राख्दै आएको छ।जसपा संसदीय दलका नेताले तीनवटै दलका अध्यक्षबीच प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै सहमति जुटाउने समझदारी भएको बताएका छन्।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। हाल प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपाका २७ र नेपाली कम्युनिष्ट पार्टीका १५ सदस्य छन्।