काठमाडौं। चक्रवात अर्नबको प्रभाव कमजोर भएसँगै बंगालको खाडीमा अर्को सामुद्रिक प्रणाली विकसित भइरहेको छ।
भारतीय मौसम विज्ञान विभागका अनुसार हाल न्यून चापीय प्रणालीका रूपमा रहेको यो प्रणाली आगामी नोभेम्बर २ सम्म चक्रवातमा परिणत हुन सक्ने सम्भावना छ। विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएअनुसार उक्त प्रणाली नोभेम्बर ३ को बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुग्न सक्ने अनुमान गरिएको छ। चक्रवातमा परिणत भए यसको नाम ‘मुरासु’ राखिनेछ। उक्त नाम भारतले प्रस्ताव गरेको हो।
हाल बंगालको खाडीमा विकसित प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ। भारतीय मौसम विभागका अनुसार यो प्रणाली थप शक्तिशाली बन्दै गहिरो न्यून चापीय क्षेत्र हुँदै चक्रवातमा परिणत हुन सक्छ। यसको प्रभावले भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा नोभेम्बर २ र ३ मा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। नोभेम्बर २ मा केही स्थानमा अत्यधिक भारी वर्षा हुन सक्ने विभागको आकलन छ। रायालसीमा क्षेत्रमा पनि दुई दिन भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
सम्भावित चक्रवातका बेला हावाको गति प्रतिघण्टा ८० देखि ९० किलोमिटरसम्म पुग्न सक्ने र झोक्कासहित १०० किलोमिटरसम्म पुग्न सक्ने अनुमान छ। यद्यपि, यो चक्रवात अर्नबको तुलनामा कम शक्तिशाली हुने आकलन गरिएको छ। बंगालको खाडीमा विकसित भइरहेको नयाँ प्रणालीले नेपालमा समेत वर्षा गराउने हो कि भन्ने चासोका बीच मौसम पूर्वानुमान महाशाखाले भने तत्काल नेपालमा यसको उल्लेख्य प्रभाव पर्ने सम्भावना नरहेको जनाएको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हालको मौसम विश्लेषणले उक्त प्रणालीको प्रभाव नेपालसम्म आइपुग्ने देखाएको छैन। सबै न्यून चापीय प्रणालीले नेपालमा असर गर्छन् भन्ने हुँदैन भन्दै उनले अहिलेको अवस्थामा नेपालमा खासै प्रभाव पर्ने सम्भावना नरहेको बताएका छन्। यसअघि विकसित चक्रवात अर्नबको प्रभाव भने नेपालमा समाप्त भइसकेको छ। उक्त चक्रवातका कारण बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म देशका अधिकांश स्थानमा वर्षा भएको थियो। शनिबार दिउँसोदेखि मौसममा क्रमिक सुधार देखिन थालेको थियो। मौसमविद् अधिकारीका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहेको छ। आगामी दिनमा मौसम थप सुधार हुँदै जाने र तत्कालका लागि आगामी पाँच दिनसम्म कुनै मौसमी चेतावनी नरहेको उनले बताएका छन्।