काठमाडौँ । इरानले गरेको आक्रमणपछि मध्यपूर्वमा रहेका अमेरिकी सैन्यस्थलमा व्यापक क्षति पुगेको देखाउने तस्बिरहरू सार्वजनिक भएका छन्।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले सक्रिय अमेरिकी सैनिकबाट प्राप्त गरेको बताइएका तस्बिरहरूमा सैन्य संरचना, भवन, ट्रेलर र विमानमा ठूलो क्षति देखिएको छ। साउदी अरेबिया र कुवेतस्थित अमेरिकी सैन्य आधारका ती तस्बिरहरू बीबीसीका अमेरिकी साझेदार सीबीएस न्युजले सार्वजनिक गरेको हो। तस्बिरमा राडार प्रणाली जडान गरिएको विमानको पछाडिको भाग छुट्टिएको, भवनहरूमा क्षति पुगेको तथा सैन्य प्रयोजनका ट्रेलर र टेन्टजस्ता संरचना ध्वस्त भएको देखिन्छ।
कुवेतस्थित क्याम्प बुएरिङमा इरानी आक्रमणपछि केही ट्रेलर पूर्ण रूपमा क्षतिग्रस्त भएको र एउटा ठूलो संरचना टुक्राटुक्रा भएको तस्बिरमा देखाइएको छ। त्यस्तै, क्याम्प अरिफजानमा रहेको चारतले भवनमा पनि क्षति पुगेको देखिन्छ। साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा रहेको अमेरिकी बोइङ ई–३ सेन्ट्री विमानसमेत गम्भीर रूपमा क्षतिग्रस्त भएको तस्बिरमा देखिन्छ। उक्त विमान लामो दूरीबाट सम्भावित लक्ष्य पत्ता लगाउने र हवाई खतराको पूर्वसूचना दिने काममा प्रयोग हुन्छ।
यद्यपि, सार्वजनिक गरिएका यी तस्बिरहरूको बीबीसीले स्वतन्त्र रूपमा प्रमाणीकरण भने गरेको छैन। यसअघि बीबीसी भेरिफाइले पनि सोही विमानसँग मिल्दोजुल्दो तस्बिरको अध्ययन गरेको जनाएको थियो। तस्बिर सार्वजनिक भएको एक दिनअघि पेन्टागनको निगरानी निकायको प्रतिवेदनले इरानी आक्रमणबाट मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य आधारमा सयौँ भवन तथा संरचना क्षतिग्रस्त वा ध्वस्त भएको जनाएको थियो। प्रतिवेदनअनुसार उपकरणमा भएको क्षति मात्रै करिब ३.७ अर्ब डलर बराबर छ भने युद्ध सुरु भएयता जुन २९ सम्म अमेरिकाले करिब ३३.४ अर्ब डलर खर्च गरेको उल्लेख छ।
प्रतिवेदनमा साउदी अरेबियामा इरानी हतियारको आक्रमणबाट जमिनमै पाँचवटा इन्धन भर्ने विमान क्षतिग्रस्त वा ध्वस्त भएको पनि उल्लेख गरिएको छ। अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका क्रममा इरानले अमेरिकी सैन्य आधार, खाडी क्षेत्रका सहयोगी मुलुक तथा इजरायललाई पटक–पटक निशाना बनाउँदै आएको छ। यसबीच अमेरिकाभित्र युद्ध अन्त्य गर्न ह्वाइट हाउसलाई राजनीतिक दबाब पनि बढेको छ। मंगलबार अमेरिकी प्रतिनिधिसभाले तेस्रोपटक इरानसँगको युद्ध अन्त्य गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्तावले कांग्रेसको स्वीकृतिबिना राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप अमेरिकी सैन्य कारबाही अघि बढाउन रोक्ने व्यवस्था गर्न खोजेको छ।