काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनञ्जय रेग्मीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेका समस्यालाई वैज्ञानिक प्रमाण र तथ्यांकसहित प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रेग्मीले प्रधानमन्त्रीको आगामी राष्ट्रसंघ महासभा भ्रमणका क्रममा नेपालले आफ्नो जलवायु सम्बन्धी धारणा तथ्य र अनुसन्धानमा आधारित बनाएर अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नुपर्ने बताएका हुन्।उनले जलवायु परिवर्तनका कारण नेपालका हिमनदी तथा हिमतालमा परेको असरबारे पर्याप्त वैज्ञानिक प्रमाण उपलब्ध रहेको उल्लेख गरे। हिन्दुकुश हिमालय क्षेत्रमा तापक्रम बढ्दै गएको र त्यसको प्रभाव हिमनदी तथा हिउँ पग्लिने प्रक्रियामा देखिएको विषय विभिन्न अनुसन्धान तथा ‘पियर–रिभ्युड’ वैज्ञानिक अध्ययनहरूले समेत देखाएको उनको भनाइ थियो।
रेग्मीका अनुसार नेपालसँगै इसिमोड तथा अमेरिका, चीन र भारतका सरकारी लगानीमा सञ्चालित विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूबाट भएका अध्ययनका तथ्यांकलाई समेत समेटेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्न सकिन्छ।उनले नेपालका विश्वविद्यालय, अनुसन्धान संस्था र इसिमोडलगायत निकायबाट प्राप्त वैज्ञानिक तथ्यांकलाई एकीकृत गरी जलवायु परिवर्तनबारे साझा राष्ट्रिय धारणा निर्माण गर्न सरकारलाई सुझाव दिएका छन्।त्यस्तो प्रमाणमा आधारित राष्ट्रिय धारणा संयुक्त राष्ट्रसंघको महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सके नेपालले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परिरहेको प्रभावलाई थप स्पष्ट रूपमा विश्व समुदायसमक्ष राख्न सक्ने उनको भनाइ छ। नेपालले आगामी महासभामा जलवायु परिवर्तनबाट सिर्जित विपद्, क्षति र जोखिमका विषय उठाउने तयारी गरिरहेको छ।