काठमाडौं ।साउदी अरबले मक्कातर्फ आउँदै गरेको भनिएको ड्रोनलाई आफ्नो हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरी आकाशमै नष्ट गरेको जनाएको छ।
घटनापछि इस्लाम धर्मावलम्बीहरूको पवित्र सहर मक्कासहित आसपासका क्षेत्रमा केही समय सुरक्षा सतर्कता बढाइएको थियो।साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीका अनुसार मंगलबार साँझ रोयल साउदी एयर डिफेन्स फोर्सले ड्रोनलाई मक्काको प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै नियन्त्रणमा लिएको हो।
उनले घटनाप्रति आपत्ति जनाउँदै ड्रोन प्रक्षेपणको उद्देश्य उपासक तथा सर्वसाधारणमा त्रास फैलाउनु रहेको आरोप लगाए। साउदी अधिकारीले मक्का र मदिनाका पवित्र स्थल तथा तीर्थयात्रीको सुरक्षालाई अत्यन्त संवेदनशील विषय भन्दै त्यस्ता क्षेत्रमा हुने आक्रमणको जवाफ कडा रूपमा दिइने बताएका छन्।तर यमनमा सक्रिय हुथी समूहले भने मक्कालाई लक्षित गरेर कुनै ड्रोन नपठाएको दाबी गरेको छ। समूहले आफूहरूले इस्लामका पवित्र स्थललाई निशाना नबनाउने अडान दोहोर्याउँदै साउदी पक्षबाट फैलाइएको भनिएको दाबीलाई अस्वीकार गरेको छ।
ड्रोन घटनापछि मंगलबार मक्कामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही समय सुरक्षा चेतावनी जारी गरिएको थियो। सन् २०१७ पछि पहिलोपटक मक्कामा यस प्रकारको सतर्कता अपनाइएको दाबी गरिएको छ। केही मिनेटपछि भने चेतावनी हटाइएको थियो। ताइफ र जेद्दालगायत साउदीका अन्य सहरमा पनि सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।
हुथी सैन्य स्रोतले यमनको सरकारी समाचार संस्था एसएबीमार्फत मक्का वा अन्य इस्लामिक पवित्र स्थलमा यमनबाट कुनै खतरा नरहेको दाबी गरेको छ। साउदी पक्षबाट आएको सूचनालाई उसले भ्रामक प्रचारको संज्ञा दिएको छ।साउदी अरब र हुथीबीचको पछिल्लो तनाव लामो समयदेखि जारी यमन द्वन्द्वसँग सम्बन्धित छ। सन् २०१५ मा हुथीहरूले राजधानी साना नियन्त्रणमा लिएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई विस्थापित गरेपछि साउदी नेतृत्वको गठबन्धनले यमनमा सैन्य हस्तक्षेप गरेको थियो।
संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सन् २०२२ अप्रिलमा युद्धविराम भएपछि साउदी भूमिमा हुथीका ठूला आक्रमणहरू उल्लेख्य रूपमा कम भएका थिए। पछिल्लो समय भने दुई पक्षबीच पुनः तनाव बढेको बताइएको छ।हुथीहरूले साउदी पानीजहाजमाथि नाकाबन्दी घोषणा गर्नुका साथै बाब अल–मन्देब क्षेत्र आसपास आफ्नो प्रभाव विस्तार गरेपछि क्षेत्रीय तनाव थप बढेको दाबी गरिएको छ। सेप्टेम्बरयता हुथी समूहले साउदी अरबका विभिन्न स्थानमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको साउदी अधिकारीहरूको आरोप छ।साउदी नेतृत्वको गठबन्धनले मंगलबार खामिस मुशैत, अब्हा र ताइफ क्षेत्रमा भएका भनिएका हुथी आक्रमणमा १३ जना घाइते भएको जनाएको छ।