काठमाडौं । अमेरिकाको लस एन्जलसमा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
लस एन्जलस अग्नि नियन्त्रण विभागका अनुसार मंगलबार स्थानीय समयअनुसार साँझ करिब ७ बजे लस एन्जलसको च्याट्सवर्थ क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको हो। लुर्लाइन एभिन्यु र नर्डहफ स्ट्रिट नजिकै रहेको दुईवटा व्यापारिक भवनको बीचमा हेलिकोप्टर खसेपछि कन्टेनर र केही सवारीसाधनमा आगलागी भएको थियो। अग्नि नियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएको जनाएको छ।
अग्नि नियन्त्रण विभागका क्याप्टेन ब्रान्डेन सिल्भरम्यानका अनुसार हेलिकोप्टर दुर्घटना हुँदा बाहिर भेटिएका एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो। हेलिकोप्टरभित्र कति जना सवार थिए भन्नेबारे भने तत्काल यकिन हुन सकेको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकोप्टर समाचार संकलनका लागि प्रयोग भएको हुनसक्ने प्रारम्भिक विवरण छ। नजिकै भएको एक घातक बस दुर्घटनाको दृश्य खिच्न उक्त हेलिकोप्टर त्यस क्षेत्रमा उडिरहेको हुनसक्ने बताइएको छ। लस एन्जलस प्रहरीले दुर्घटनामा परेको हेलिकोप्टर प्रहरीको नभएको पुष्टि गरेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले गर्ने भएको छ।