काठमाडौं ।भारतको कर्नाटक राज्यमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ।
मंगलबार बिहान भएको घटनामा अन्य दुई जना घाइते भएका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार बेलगावी जिल्लाको चाभाट गल्लीमा उक्त दुर्घटना भएको हो। सेन्ट्रल बस स्ट्यान्ड आसपास रहेको परिवारको घरमा बिहानै अचानक फ्रिज विस्फोट भएपछि आगलागीसमेत भएको बताइएको छ।घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका दुई जनाको शरीरमा करिब ६० प्रतिशतसम्म जलन भएको बताइएको छ। उनीहरूको उपचार भइरहेको छ।
विस्फोटको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक विवरणअनुसार फ्रिजमा भएको प्राविधिक खराबी वा अन्य कारणले विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ।बेलगावी कर्नाटकको राजधानी बेंगलुरुबाट करिब पाँच सय छ किलोमिटर उत्तरपश्चिममा अवस्थित छ। घटनापछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।