काठमाडौं ।युक्रेन–पोल्यान्ड सीमाक्षेत्र नजिक रुसी ड्रोनबाट भएको आक्रमणले नेटो सदस्य राष्ट्र तथा छिमेकी मुलुकहरूमा सुरक्षा चिन्ता बढाएको छ।
युक्रेनबाट पश्चिमतर्फ गइरहेको एउटा रेल र त्यस आसपासको क्षेत्रमा ड्रोन आक्रमण भएको बताइएको छ। घटनाका बेला पूर्वसीआईए प्रमुख डेभिड पेट्रियस, बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनलगायत केही उच्चपदस्थ व्यक्तिहरू त्यही क्षेत्रमा रहेका थिए।युक्रेनको रेल सञ्जालसँग सम्बन्धित अधिकारीहरूले आक्रमण ती विशिष्ट व्यक्तिहरूलाई लक्षित गरेर गरिएको हुनसक्ने आशंका गरेका छन्। उनीहरू रेल वा स्टेसनमा रहेका समयमा घटना भएको बताइए पनि रुसी पक्षले उनीहरूलाई नै निशाना बनाएको थियो भन्ने कुरा तत्काल पुष्टि भएको छैन।
यदि आक्रमणको उद्देश्य पूर्वसीआईए प्रमुख वा अन्य वरिष्ठ अधिकारीलाई लक्षित गर्नु थियो भने त्यसले रुस र पश्चिमी राष्ट्रबीचको तनाव थप चर्काउन सक्ने विश्लेषण गरिएको छ। यद्यपि उनीहरू त्यहाँ रहेको जानकारी रुसी पक्षसम्म कसरी पुग्यो भन्ने प्रश्नसमेत उठेको छ।पछिल्लो घटनाले युक्रेनलाई सहयोग गरिरहेका नेटो सदस्य राष्ट्रहरूसँग रुसको तनाव थप बढ्न सक्ने पश्चिमी गुप्तचर निकायहरूले यसअघि व्यक्त गर्दै आएको चिन्तालाई समेत बल पुगेको छ।
रुसले युक्रेनमाथि युद्ध जारी राखे पनि नेटोसँग प्रत्यक्ष र पूर्णस्तरको सैन्य भिडन्त सुरु गर्नु तत्काल उसको प्रमुख रणनीति नहुन सक्ने विश्लेषण गरिएको छ। त्यसको सट्टा प्रत्यक्ष रूपमा जिम्मेवारी अस्वीकार गर्न सकिने किसिमका ‘हाइब्रिड’ गतिविधिमार्फत दबाब बढाउने सम्भावना रहेको आकलन हुँदै आएको छ।युक्रेनको पश्चिमी सीमासँग जोडिएका क्षेत्रमा समेत सुरक्षा चुनौती बढ्न सक्ने चेतावनी यसअघि नै दिइँदै आएको थियो। पछिल्लो ड्रोन आक्रमण युक्रेनको अन्तर्राष्ट्रिय आवतजावतका लागि महत्वपूर्ण रेलमार्ग नजिक हुनु थप संवेदनशील मानिएको छ।
युक्रेन भ्रमण गर्ने विदेशी राष्ट्रप्रमुख, वरिष्ठ अधिकारी तथा सहयोगी प्रतिनिधिमण्डलका लागि रेल यात्रा प्रमुख माध्यमका रूपमा प्रयोग हुँदै आएको छ। यही माध्यमबाट उनीहरूले युक्रेनलाई समर्थन जनाउने, संवेदनशील विषयमा छलफल गर्ने र आवश्यक सूचनाको आदानप्रदान गर्ने गरेका छन्।तर रेलमार्ग तथा त्यसमा यात्रा गर्ने सर्वसाधारणसमेत ड्रोन आक्रमणको जोखिममा पर्न थालेपछि युक्रेन र उसका सहयोगी राष्ट्रका लागि सुरक्षा चुनौती थप गम्भीर बनेको छ।