काठमाडौं । पूर्वबेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित युरोपका उच्च सुरक्षा अधिकारीहरू युक्रेन–पोल्यान्ड सीमातर्फको रेलमार्गबाट गएको केहीबेरमै रुसी ड्रोनले सोही क्षेत्रमा रहेको अर्को रेलमा प्रहार गरेको छ।
युक्रेन–पोल्यान्ड सीमाबाट करिब दुई किलोमिटर टाढा याहोदिन क्षेत्रमा भएको उक्त आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणअघि रेलमा रहेका सबै यात्रुलाई सुरक्षित स्थानमा सारिएको थियो। जोन्सन, बेलायतका सुरक्षा सल्लाहकार जोनाथन पावेलसहित केही युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू किभमा आयोजित सम्मेलनमा सहभागी भएर फरक रेलमार्फत सोही रेलमार्ग हुँदै फर्किएका थिए।
रुसले पश्चिमी युक्रेनको ‘रेल पूर्वाधार’लाई निशाना बनाएको दाबी गरेको छ। तर युक्रेनको सरकारी रेल कम्पनी उक्रजालिज्नित्सियाले भने ड्रोनको लक्ष्य सम्भवतः कूटनीतिक प्रतिनिधिहरू सवार रेल हुन सक्ने जनाएको छ। उक्त समयमा याहोदिन स्टेसनमा अर्को रेलमा रहेका पूर्वसीआईए प्रमुख डेभिड पेट्रियसले घटनालाई ‘डरलाग्दो’ भन्दै आफूहरूले निकै त्रास महसुस गरेको बताएका छन्। उनले घटनालाई युक्रेनी नागरिकलाई आतंकित पार्ने प्रयासका रूपमा टिप्पणी गरेका छन्।
युक्रेनी रेल कम्पनीका अनुसार रुसी आक्रमणको निरन्तर जोखिमका कारण रेलको समयतालिका परिवर्तन गरिएको थियो र प्रभावित रेल अपेक्षाभन्दा केहीअघि नै स्टेसनबाट छुटेको थियो। आक्रमण हुनुभन्दा करिब १५ मिनेटअघि यात्रुलाई रेल खाली गर्न निर्देशन दिइएको पनि कम्पनीले जनाएको छ। युक्रेन र पोल्यान्डका अधिकारीहरूले ड्रोनले पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर टाढा प्रहार गरेको बताएका छन्। किभ सम्मेलनमा सहभागी भएका पूर्वस्विडिस प्रधानमन्त्री कार्ल बिल्ड्टले आफ्नो रेल केही समय रोकिएपछि यात्रुलाई उद्धारका लागि तयार रहन भनिएको बताए। अवस्था सुरक्षित रहेको जानकारी आएपछि रेल पुनः अघि बढेको र सुरक्षित रूपमा पोल्यान्डको सीमास्थित दोर्हुश स्टेसन पुगेको उनले बताएका छन्।
बोरिस जोन्सनले सामाजिक सञ्जाल एक्समा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनी नागरिकले दैनिक यस्तै ‘अर्थहीन र अन्धाधुन्ध’ आक्रमणको सामना गरिरहेको बताएका छन्। उनले युक्रेनका सहयोगी राष्ट्रलाई तत्काल आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन्। युक्रेनले रुसी आक्रमणबाट नागरिक तथा पूर्वाधारको सुरक्षा गर्न विशेषगरी अमेरिकासहित आफ्ना सहयोगी राष्ट्रसँग थप हवाई प्रतिरक्षा उपकरण र इन्टरसेप्टर उपलब्ध गराउन पटक–पटक आग्रह गर्दै आएको छ। पछिल्लो समय रुसले तीव्र गतिका ब्यालिस्टिक क्षेप्यास्त्र र जेट इन्जिनयुक्त ड्रोनको प्रयोग बढाएको युक्रेनको दाबी छ।