काठमाडौं । युक्रेन–पोल्यान्ड सीमाना नजिकै रुसी आक्रमणमा एउटा रेलको इन्जिनमा क्षति पुगेको छ।
पूर्वबेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित युरोपका उच्च सुरक्षा अधिकारीहरू सोही रेलमार्गबाट गुज्रिएको केही समयपछि आक्रमण भएको हो। आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ। रुसी पक्षले पश्चिमी युक्रेनको ‘रेल पूर्वाधार’लाई लक्षित गरी कारबाही गरिएको जनाएको छ।जोन्सनले भने स्थिर अवस्थामा रहेको युक्रेनी रेलको इन्जिनमाथि आक्रमण गर्नुको कारणप्रति प्रश्न उठाउँदै युक्रेनलाई आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउनुपर्ने बताएका छन्।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कका अनुसार रुसी ड्रोनले पोल्यान्डको सीमाबाट करिब ८०० मिटर टाढा प्रहार गरेको थियो। रुसले पछिल्लो समय युक्रेनका रेल, रेल डिपो तथा यातायात पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ। यस्ता आक्रमणका कारण युक्रेनको रेल सञ्जालमा ठूलो क्षति पुगेको छ। सन् २०२२ मा रुसले पूर्णस्तरको आक्रमण सुरु गरेपछि हवाई सेवा बन्द रहेकाले लाखौँ युक्रेनीका लागि रेल यातायातको प्रमुख माध्यम बनेको छ।