काठमाडौं । बेलायतको दक्षिणपन्थी राजनीतिक दल रिफर्म यूकेले दुई दिनमै ७२ मिलियन पाउन्ड बराबरको ठूलो चन्दा प्राप्त गरेको छ।
क्रिप्टोकरेन्सी लगानीकर्ता क्रिस्टोफर हार्बोर्नले शुक्रबार रिफर्मलाई ३६ मिलियन पाउन्ड चन्दा दिने बेन डेलोको घोषणापछि सोही रकम बराबरको अर्को चन्दा दिने घोषणा गरेका हुन्। डेलोको चन्दा बेलायतको कुनै राजनीतिक दलले प्राप्त गरेको अहिलेसम्मकै ठूलो एकमुष्ट चन्दा भएको बताइएको छ। हार्बोर्नले आफ्नो चन्दाको बदलामा आफूले व्यक्तिगत रूपमा केही अपेक्षा नगरेको बताएका छन्। उनका अनुसार रिफर्म नयाँ राजनीतिक दल भएकाले परम्परागत दलहरूसँग जस्तो लामो समयदेखि बनेको आर्थिक आधार उसँग छैन।
रिफर्म यूकेका नेता नाइजेल फराजले दुई दाताको सहयोगबाट पार्टीले आगामी आमनिर्वाचनमा प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्। पार्टीले प्राप्त रकम नीति निर्माणका लागि विज्ञहरू नियुक्त गर्न तथा लक्षित निर्वाचन क्षेत्रमा करिब ४०० अभियान व्यवस्थापक परिचालन गर्न प्रयोग गर्ने जनाएको छ। यद्यपि, ठूलो चन्दा प्राप्त गरेसँगै रिफर्म यूकेको आर्थिक गतिविधिमाथि प्रश्न पनि उठेको छ। विदेशी स्रोतबाट राजनीतिक दललाई प्राप्त हुने चन्दामा सीमा तोक्ने सरकारको तयारी भइरहेका बेला पार्टीको वित्तीय कारोबारबारे प्रहरी अनुसन्धानसमेत चलिरहेको छ।
हार्बोर्नले यसअघि पनि रिफर्म र फराजलाई ठूलो रकम चन्दा दिएका थिए। फराजले सन् २०२४ को निर्वाचनअघि हार्बोर्नबाट प्राप्त ५ मिलियन पाउन्ड नगद उपहार सार्वजनिक गर्नुपर्ने थियो वा थिएन भन्ने विषयमा संसदीय मापदण्डसम्बन्धी छानबिनको सामना गरिरहेका छन्। रिफर्मको वित्तीय गतिविधिबारे बेलायतका अन्य राजनीतिक दलहरूले समेत प्रश्न उठाएका छन्। लेबर पार्टीले फराज र रिफर्मले आफ्नो आर्थिक स्रोतबारे जनतालाई स्पष्ट जवाफ दिनुपर्ने बताएको छ। ग्रीन पार्टी र लिबरल डेमोक्र्याटले भने व्यक्तिगत चन्दामा कडा सीमा तोक्न सरकारसँग माग गरेका छन्।