काठमाडौं ।सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि आर्थिक अनियमितताको आरोप लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रहरीका लागि आवश्यक मोजा, जुत्ता तथा कपडालगायत बन्दोबस्तीका सामग्री खरिदमा ठूलो रकम अनियमितता भएको आरोप सार्वजनिक भइसके पनि सम्बन्धित निकाय र सरकारले पर्याप्त चासो नदिएको दाबी गरे।सांसद सुनारले अन्य पदाधिकारीमाथि सामान्य आरोप लाग्दा कारबाही हुने गरेको तर प्रहरी प्रमुखमाथि करोडौँ रुपैयाँको भ्रष्टाचारको आरोप उठ्दा पनि पदमै राखिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
उनले मन्त्री र प्रहरी प्रमुखका लागि फरक मापदण्ड हुन नहुने भन्दै आरोपबारे तत्काल निष्पक्ष छानबिन गर्न र दोषी देखिए कडा कारबाही गर्न माग गरे।सुरक्षा निकायका उच्च अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लाग्नु गम्भीर विषय भएको बताउँदै सुनारले यसले प्रहरी संगठनप्रति नागरिकको विश्वास र संस्थागत साखमा असर पर्न सक्ने धारणा राखे।उनले आरोप पुष्टि भए प्रहरी महानिरीक्षकलाई निलम्बन गरी अनुसन्धान अघि बढाउनुपर्ने मागसमेत गरे। सरकार आरोपबारे मौन बस्नुले अनियमिततालाई संरक्षण गरेको सन्देश जान सक्ने भन्दै उनले यस विषयमा तत्काल स्पष्ट कदम चाल्न आग्रह गरेका छन्।