काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ आगामी शनिबार र आइतबार भारतको नयाँदिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सी भारत जान लागेका हुन्।चिनियाँ विदेश मन्त्रालयले सीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो। करिब सात वर्षपछि हुन लागेको उनको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।चीन र भारतबीच लामो समयदेखि सीमा विवादका कारण तनाव रहँदै आएको थियो। पछिल्लो समय भने दुवै देशबीच संवाद र सहकार्य बढाउने प्रयास भइरहेका छन्। यही अवस्थामा सीको भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।ब्रिक्स सम्मेलनका क्रममा सी र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने सम्भावना पनि छ। भेटमा सीमा विवाद, व्यापार, आर्थिक सहकार्य तथा दुई देशबीचको आपसी विश्वास बढाउने विषयमा छलफल हुन सक्ने बताइएको छ।
विज्ञहरूले चीन र भारतबीच आर्थिक तथा प्राविधिक क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन्। चीन उत्पादन तथा हार्डवेयर क्षेत्रमा बलियो मानिन्छ भने भारत सफ्टवेयर र ठूलो युवा जनशक्तिका कारण महत्वपूर्ण शक्ति बनेको छ।सीको भ्रमणलाई चीन–भारत सम्बन्धमा मात्र नभई ब्रिक्समा ग्लोबल साउथको सहकार्य र बहुध्रुवीय विश्व व्यवस्थासम्बन्धी छलफलका लागि पनि महत्वपूर्ण मानिएको छ।भारतले यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको छ। सम्मेलनमा स्थानीय मुद्रामा कारोबार, डिजिटल भुक्तानी, विकासशील मुलुकको वित्तीय पहुँच, ऊर्जा, जलवायु परिवर्तन, खाद्य सुरक्षा र कृत्रिम बुद्धिमत्तासहितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।यसैबीच, चीन र भारतबीचको आर्थिक सम्बन्ध पनि विस्तार हुँदै गएको छ। दुई देशबीचको व्यापार बढिरहेका कारण राजनीतिक मतभेदका बाबजुद आर्थिक सहकार्यलाई स्थिर र थप विस्तार गर्ने विषयलाई पनि महत्वपूर्ण मानिएको छ।