काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने स्पष्ट पारेका छन्।
शुक्रबार काठमाडौंमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले असोज १६ गतेदेखि सुरु हुने भनिएको महाधिवेशनको मिति परिवर्तन नहुने बताएका हुन्।महाधिवेशन सर्ने हो कि भन्ने आशंका भइरहेका बेला उनले संविधान, कांग्रेसको विधान र अदालतको फैसलाले पार्टीलाई निर्धारित प्रक्रियाअनुसार अघि बढ्न बाध्य बनाएको बताए। त्यसैले महाधिवेशन घोषित मितिभन्दा एक घण्टा पनि ढिला नहुने उनको दाबी छ।सभापति थापाले महाधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहने विश्वास पनि व्यक्त गरे। पार्टीभित्र देखिएको अन्योल हटाउँदै निर्धारित समयमै महाधिवेशन हुनेमा ढुक्क हुन उनले सबैलाई आग्रह गरे।महाधिवेशनपछि कांग्रेसले जनतासँग कमजोर भएको सम्बन्ध पुनः मजबुत बनाउने अभियान सञ्चालन गर्ने थापाको भनाइ छ। नेतृत्वमा जो आए पनि पार्टीलाई एकताबद्ध बनाएर देशका सबै ७७ जिल्लामा पुग्ने र नागरिकका गुनासा प्रत्यक्ष सुन्ने उनले बताए।उनले आगामी दिनमा कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै संगठनलाई सुदृढ र प्रभावकारी बनाउने पार्टीको प्राथमिकता रहेको पनि उल्लेख गरे।