काठमाडौं ।दक्षिण कोरियामा विद्यालय हिंसाका घटना पछिल्ला वर्षमा लगातार बढिरहेका छन्।
डिजिटल उपकरणको अत्यधिक प्रयोग, विद्यार्थीबीच प्रत्यक्ष सम्पर्कमा आएको कमी तथा कोभिड–१९ महामारीपछिको सामाजिक व्यवहारमा आएको परिवर्तनलाई यसको प्रमुख कारणका रूपमा हेरिएको छ।दक्षिण कोरियाको शिक्षा मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो सर्वेक्षणअनुसार कक्षा ४ देखि हाईस्कुलको अन्तिम तहसम्मका करिब ३९ लाख विद्यार्थीमध्ये दुई दशमलव नौ प्रतिशतले विद्यालय हिंसाको अनुभव गरेको बताएका छन्। यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव चार प्रतिशत विन्दुले बढी हो।शिक्षा मन्त्रालयले सन् २०१३ देखि नियमित रूपमा यस्तो तथ्याङ्क संकलन गर्न थालेयता यो सबैभन्दा उच्च दर हो। अर्थात् प्रत्येक १ सय विद्यार्थीमध्ये करिब तीन जना विद्यालय हिंसाबाट प्रभावित हुने गरेको देखिएको छ।
यस वर्षको पहिलो चरणको सर्वेक्षणमा करिब ३१ लाख ९० हजार विद्यार्थी सहभागी भएका थिए। सर्वेक्षणले सन् २०२५ को दोस्रो शैक्षिक सत्रदेखि सन् २०२६ को मेसम्म भएका हिंसाका घटनालाई समेटेको थियो।तथ्याङ्कअनुसार महामारीका कारण विद्यालयमा प्रत्यक्ष उपस्थितिको अवस्था कमजोर हुँदा सन् २०२० मा विद्यालय हिंसाको दर शून्य दशमलव नौ प्रतिशतमा झरेको थियो। त्यसपछि भने दर निरन्तर उकालो लाग्दै आएको छ। सन् २०२१ मा एक दशमलव एक, २०२२ मा एक दशमलव सात, २०२३ मा एक दशमलव नौ, २०२४ मा दुई दशमलव एक र २०२५ मा दुई दशमलव पाँच प्रतिशत पुगेको थियो।
विद्यालय तहअनुसार प्राथमिक तहका विद्यार्थी बढी प्रभावित देखिएका छन्। प्राथमिक तहमा हिंसाको अनुभव गर्ने विद्यार्थीको दर पाँच दशमलव सात प्रतिशत छ। निम्न माध्यमिक तहमा दुई दशमलव तीन र उच्च माध्यमिक तहमा शून्य दशमलव आठ प्रतिशत रहेको छ।हिंसाका घटनामा मौखिक दुर्व्यवहार सबैभन्दा धेरै देखिएको छ। यस्तो हिंसाको हिस्सा ३७ दशमलव आठ प्रतिशत रहेको छ। त्यसपछि समूह बनाएर गरिने दुर्व्यवहार १७ दशमलव एक, शारीरिक आक्रमण १५ दशमलव सात र साइबर–बुलिङ सात प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ।यद्यपि मौखिक दुर्व्यवहार र साइबर–बुलिङ केही घटेका छन् भने शारीरिक हिंसा र समूहगत दुर्व्यवहार बढेको पाइएको छ। यस वर्ष हिंसामा संलग्न भएको स्वीकार गर्ने विद्यार्थीको दर शून्य दशमलव आठ प्रतिशतमा झरे पनि हिंसाको प्रत्यक्षदर्शी हुने विद्यार्थीको अनुपात बढेर छ दशमलव सात प्रतिशत पुगेको छ।विशेषज्ञहरूले महामारीपछि विद्यार्थीको सामाजिक अन्तरक्रिया कमजोर हुनु र डिजिटल माध्यममा निर्भरता बढ्नुले आमनेसामने संवाद, सहानुभूति तथा विवाद समाधान गर्ने क्षमतामा असर पारेको हुनसक्ने बताएका छन्। यसले विद्यालयमा प्रत्यक्ष हिंसा मात्र नभई विद्यार्थीको समग्र सामाजिक तथा मानसिक वातावरणमा समेत चुनौती बढिरहेको संकेत गरेको उनीहरूको भनाइ छ।