काठमाडौं । रुस–युक्रेन युद्धमा पछिल्लो समय युक्रेनको पूर्वी मोर्चाको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ ।
रुसले पूर्वी युक्रेनका रणनीतिक सहरहरूतर्फ दबाब बढाउँदै लगेपछि युक्रेनले आफ्नो महत्वपूर्ण रक्षात्मक क्षेत्र गुमाउने जोखिम बढेको छ । युक्रेनको ९३औँ मेकानाइज्ड ब्रिगेडमा कार्यरत प्रेस अधिकारी इरिना रिबाकोभाका अनुसार डोनबास क्षेत्रको महत्वपूर्ण सहर क्रामाटोर्स्कमा रुसी आक्रमण तीव्र बनेको छ । सहरका अधिकांश पुलहरू ध्वस्त भइसकेका छन् भने निर्देशित बम र ड्रोन आक्रमण दैनिकजसो भइरहेका छन् । उनका अनुसार सहरमा दिनमै दर्जनौँ पटक आक्रमण हुने गरेको छ । घर, सवारीसाधन, प्रशासनिक भवन, ग्यारेज तथा अन्य संरचनामा क्षति पुगेको छ । ड्रोनको निरन्तर जोखिमका कारण स्थानीय बासिन्दा र सुरक्षाकर्मीसमेत उच्च सतर्कतामा बस्न बाध्य छन् ।
अमेरिकी द्वन्द्व निगरानी संस्था इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्ल्यू) का अनुसार रुसी सेनाले अगस्ट महिनामा करिब १२४ वर्ग किलोमिटर युक्रेनी भूभागमा अघि बढेको वा घुसपैठ गरेको छ । यद्यपि यो गति निकै सुस्त रहेको र त्यसका लागि रुसले ठूलो मानवीय क्षति बेहोर्नुपरेको विश्लेषण गरिएको छ । तर युक्रेनका लागि चिन्ताको विषय भने पूर्वी क्षेत्रमा रहेको ‘फोर्ट्रेस बेल्ट’ अर्थात् प्रमुख रक्षात्मक सहरहरूको शृंखला हो । स्लोभियान्स्क, क्रामाटोर्स्क, द्रुज्किभ्का र कोस्तियान्तिनिभ्का जोडिएको यो क्षेत्र युक्रेनको पूर्वी रक्षाको मेरुदण्ड मानिन्छ । भौगोलिक अवस्था, सडक तथा रेल सञ्जाल र जनघनत्वका कारण यी सहरहरूले पूर्वी युक्रेनलाई थप पश्चिमतर्फ फैलिएको समथर भूभागबाट अलग गर्ने प्राकृतिक रक्षात्मक अवरोधको काम गर्छन् । रुसले यो रक्षात्मक घेरा तोड्न सके युक्रेनको भित्री भूभागतर्फ तुलनात्मक रूपमा तीव्र गतिमा अघि बढ्न सक्ने चिन्ता छ ।
युक्रेनले पछिल्ला केही वर्षदेखि यी सहरलाई बलियो बनाउन ठूलो स्रोत परिचालन गर्दै आएको थियो । तर पछिल्लो समय यो रक्षात्मक क्षेत्र क्रमशः कमजोर हुँदै गएको विश्लेषण गरिएको छ । कोस्तियान्तिनिभ्का सहरलाई युक्रेनको महत्वपूर्ण रक्षात्मक आधारका रूपमा कायम राख्न कठिन भइसकेको बताइएको छ । रुसले भने तीव्र आक्रमणभन्दा पनि लामो समयसम्म चल्ने र क्रमिक रूपमा क्षेत्र कब्जा गर्ने रणनीति अपनाइरहेको छ । बाख्मुत कब्जा गर्न रुसी सेनालाई करिब नौ महिना र पोक्रोभ्स्क नियन्त्रणमा लिन झन्डै दुई वर्ष लागेको थियो । ती सहरहरू नियन्त्रणमा आउँदासम्म अधिकांश संरचना ध्वस्त भइसकेका थिए । यसबीच रुसले डोनेत्स्क र लुहान्स्क क्षेत्र पूर्ण रूपमा कब्जा गर्ने आफ्नो लक्ष्यबाट पछि नहटेको संकेत दिइरहेको छ । रुसले डोनेत्स्कको करिब ८१ प्रतिशत भूभाग र लुहान्स्कको अधिकांश क्षेत्र नियन्त्रणमा लिएको दाबी गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना लक्ष्य हासिल हुने दाबी गर्दै आएका छन् । यद्यपि उनका यस्ता दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।
नागरिकको अवस्था झन् कठिन
युक्रेनको नियन्त्रणमा रहेको डोनेत्स्क क्षेत्रका भूभागमा अझै करिब ९३ हजार मानिस बसोबास गरिरहेको बताइएको छ, जसमा ४ हजार ८ सयभन्दा बढी बालबालिका छन् । तर निरन्तर रुसी आक्रमणका कारण उनीहरूको दैनिक जीवन थप जोखिमपूर्ण बन्दै गएको छ । ‘ह्वाइट एन्जल्स’ नामक प्रहरी इकाइका अधिकारीहरूका अनुसार केही क्षेत्रमा सडकमार्फत उद्धार गर्नसमेत सम्भव छैन । ड्रोनको जोखिम, बारुदी सुरुङ र निरन्तर गोलाबारीका कारण सुरक्षाकर्मीले पैदलै मानिसहरूलाई सुरक्षित स्थानतर्फ निकाल्नुपरेको छ ।
क्रामाटोर्स्कमा अझै सर्वसाधारणको बसोबास रहे पनि त्यहाँको अवस्था तीव्र रूपमा बिग्रिँदै गएको स्थानीय अधिकारीहरूले बताएका छन् । दैनिक बमबारीका कारण व्यवसायहरू विस्थापित भइरहेका छन् भने स्थानीय बासिन्दा पनि सुरक्षित स्थानतर्फ जाने तयारीमा छन् । विश्लेषकहरूका अनुसार रुसले तत्काल ठूलो सैन्य सफलता हासिल गर्ने सम्भावना कम भए पनि पूर्वी युक्रेनका रक्षात्मक संरचना र आपूर्ति प्रणालीलाई क्रमशः कमजोर बनाउँदै गएको छ । यसले देखाउँछ–युक्रेनको पूर्वी मोर्चामा युद्ध अहिले तीव्र गतिमा भूभाग कब्जा गर्नेभन्दा पनि लामो समयसम्म दबाब सिर्जना गर्दै रक्षात्मक संरचना कमजोर बनाउने रणनीतितर्फ अघि बढिरहेको छ। क्रामाटोर्स्क र स्लोभियान्स्कजस्ता रणनीतिक सहरमा दबाब बढ्दै जानु युक्रेनका लागि आगामी चरणको युद्धमा ठूलो चुनौती बन्न सक्ने देखिन्छ।