काठमाडौं ।रुस र युक्रेनबीच शान्ति वार्ताको प्रयास भइरहेका बेला तीन दिनदेखि रोकिएको राजधानीकेन्द्रित हवाई हमला फेरि सुरु भएको छ।
मंगलबार बिहान रुसले युक्रेनको राजधानी किभमा ड्रोनसहित आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु र सात जना घाइते भएको बताइएको छ। किभका दुई आवासीय भवनमा समेत क्षति पुगेको छ।आक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै हवाई आक्रमणको चेतावनी जारी गरेको थियो। राजधानीबाहिरका केही क्षेत्रमा पनि ड्रोनबाट आक्रमण भएको जनाइएको छ।यता, युक्रेनले पनि रुसको साराटोभ क्षेत्रमा ड्रोन हमला गरेको रुसी अधिकारीहरूले बताएका छन्। त्यसक्रममा केही मानिस घाइते भएको दाबी गरिएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरले मस्को र किभ पुगेर युद्ध अन्त्यका लागि छलफल गरेका थिए। उनीहरूको भ्रमणका क्रममा दुवै पक्षले राजधानीमा तीन दिनसम्म हमला नगर्ने सहमति गरेका थिए।तर वार्ताबाट तत्काल ठोस शान्ति सम्झौता हुन नसकेपछि उक्त अस्थायी रोकावट सकिएको छ र किभ तथा आसपास फेरि युद्धको आवाज सुनिन थालेको छ।यसले रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास अझै कठिन रहेको संकेत गरेको छ।