काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि भारतले थप मानवीय सहायता सामग्री नेपाल पठाएको छ।
भारतले ३७.५ टन राहत तथा उद्धार सामग्रीसहितको दोस्रो उडान नेपालतर्फ पठाएको हो।भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान नेपालका लागि प्रस्थान गरेको जानकारी दिएका छन्। उक्त विमानमा विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक सामग्रीसँगै औषधि र खाद्यान्नसमेत रहेको जनाइएको छ।नेपालमा भोटेकोशी क्षेत्रसहित विभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो क्षति भएपछि प्रभावितको उद्धार तथा राहतका लागि छिमेकी मुलुक भारतले सहयोग अघि बढाएको हो।जयशंकरले विपद्को समयमा नेपालमा भइरहेका उद्धार तथा राहत कार्यमा भारतको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।भारतबाट आएको राहत सामग्रीले विपद्बाट प्रभावित नागरिकलाई आवश्यक औषधि, खाद्यान्न तथा उद्धारसम्बन्धी सामग्री उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।