काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई लक्षित गरिएको धम्कीपूर्ण भिडियो इरानको सरकारी टेलिभिजनबाट प्रसारण भएपछि अमेरिकी सुरक्षा निकाय सतर्क बनेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानको सरकारी प्रसारण संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ आईआरआईबी बाट हालै प्रसारित करिब तीन मिनेट लामो भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पको नाम उल्लेख गरिएको थियो।भिडियोमा अंग्रेजी भाषामा ‘ह्वेर टु किल ब्यारोन ट्रम्प’ अर्थात् ‘ब्यारोन ट्रम्पलाई कहाँ मार्ने’ भन्ने आशयको प्रश्न प्रस्तुत गरिएको बताइएको छ। भिडियोमा ब्यारोन सार्वजनिक रूपमा जाने सम्भावित स्थानका तस्बिर तथा ग्राफिक्ससमेत देखाइएको थियो। त्यसमध्ये न्यूयोर्कस्थित ट्रम्प टावरको दृश्य पनि समावेश रहेको रोयटर्सले जनाएको छ।भिडियोको अन्त्यतिर ब्यारोनको हत्या गर्ने व्यक्तिलाई १ करोड अमेरिकी डलर पुरस्कार दिने आशयको सन्देशसमेत दिइएको बताइएको छ।इरानी सरकारी सञ्चारमाध्यमबाट यस्तो सामग्री सार्वजनिक भएपछि अमेरिकी सिक्रेट सर्भिसले घटनालाई गम्भीरतापूर्वक लिएको छ। सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गग्लिएल्मीले भिडियोबारे आफूहरू जानकार रहेको र सुरक्षा जिम्मेवारीमा रहेका व्यक्तिविरुद्ध खतरा मानिने कुनै पनि विषयको अनुसन्धान गरिने बताएका छन्।
यद्यपि, सिक्रेट सर्भिसले उक्त भिडियोमा व्यक्त गरिएको धम्की तत्काल र वास्तविक जोखिम हो वा होइन भन्नेबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।अमेरिकी सञ्चारमाध्यम सीएनएनले भने उक्त भिडियो ट्रम्प र उनको परिवारलाई लक्षित गर्दै इरानबाट सञ्चालन भइरहेको भनिएको अभियानकै एउटा हिस्सा हुन सक्ने स्रोतलाई उद्धृत गर्दै जनाएको छ। विगतमा पनि ट्रम्प परिवारका सदस्यहरूको गतिविधि र उनीहरूलाई लक्षित गर्न सकिने सम्भावित उपायबारे सामग्री सार्वजनिक हुने गरेको बताइएको छ।यसपटक भने ट्रम्प परिवारका सदस्यको नामै उल्लेख गरेर धम्कीपूर्ण सामग्री सार्वजनिक भएको देखिएको छ। यसअघि प्रथम महिला मेलानिया ट्रम्पलाई समेत धम्की दिइएको घटनाहरू सार्वजनिक भएका थिए।अमेरिका र इरानबीच तनाव बढिरहेका बेला यस्तो सामग्री सार्वजनिक भएपछि ट्रम्प परिवारको सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाइएको छ। राष्ट्रपति ट्रम्पले पनि यसअघि आफूलाई इरानबाट खतरा रहेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका छन्।