काठमाडौं । भारतको महाराष्ट्रस्थित अमरावती जिल्ला महिला अस्पतालको नवजात शिशु सघन उपचार कक्ष एनआईसीयू मा आगलागी हुँदा तीन नवजात शिशुको मृत्यु भएको छ।
सोमबार बिहान करिब ३ः३० बजे अस्पतालको तेस्रो तलामा रहेको एनआईसीयूमा आगलागी भएको हो। आगलागीपछि एनआईसीयूमा बाक्लो धुवाँ फैलिएको थियो। घटनाका बेला त्यहाँ ३९ जना नवजात शिशु उपचाररत थिए।आगलागी सुरु भएपछि चिकित्सक, नर्स तथा अस्पतालका कर्मचारीले तत्काल उद्धार थालेका थिए। अधिकांश शिशुलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ।अमरावतीका प्रहरी आयुक्त राकेश ओलाका अनुसार एनआईसीयूका तीनमध्ये एउटा कक्षमा नौ जना नवजात शिशु थिए। आगलागीबाट तीमध्ये तीन जनाको मृत्यु भएको हो। बाँकी छ जनालाई तत्काल अन्यत्र सारेर उपचार जारी राखिएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा एनआईसीयूमा प्रयोग गरिएको भेन्टिलेटरमा विस्फोट भएपछि आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि आगलागीको वास्तविक कारण पुष्टि भइसकेको छैन।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।