काठमाडौँ । अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलमार्ग नखुल्ने इरानले चेतावनी दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) का सचिव मोहसेन रेजाइले सरकारी प्रसारक आईआरआईबीसँगको अन्तर्वार्तामा यस्तो कडा चेतावनी दिएका हुन्।
रेजाइले अमेरिकाले जलमार्ग खुला रहेको दाबी गरे पनि वास्तविकता त्यस्तो नरहेको स्पष्ट पारेका छन्। अमेरिकाले आफ्नो व्यवहार सच्याएर विगतका प्रतिबद्धताहरू पूर्ण रूपमा पालना गरेपछि मात्रै यो महत्त्वपूर्ण जलमार्ग खोलिने इरानी पक्षको भनाइ छ।
अमेरिकी रणनीतिमाथि टिप्पणी गर्दै रेजाइले सैन्य विकल्पबाट अपेक्षा अनुसारको परिणाम हासिल गर्न नसकेपछि अहिले अमेरिकाले आर्थिक नाकाबन्दीमार्फत इरानमाथि दबाब बढाउन खोजिरहेको आरोप लगाए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही महिनाको कडा आर्थिक नाकाबन्दीले इरानलाई झुकाउन सकिने आश्वासन दिएको दाबीसमेत उनले गरे।
इरानले वर्षौंदेखि वैदेशिक प्रतिबन्धहरू छल्ने विभिन्न उपायहरू विकास गरिसकेको उल्लेख गर्दै रेजाइले बाह्य दबाबका बाबजुद तेल निर्यात जारी राख्ने र देशको आत्मरक्षा कायम राख्ने बताए। उनले होर्मुज जलमार्गको व्यवस्थापन गर्ने पूर्ण अधिकार इरानसँग रहेको र फारसी खाडीको आधाभन्दा बढी तट इरानको भूभाग पर्ने भएकाले त्यस क्षेत्रको सुरक्षामा इरानको भूमिका निर्णायक रहने दाबी गरे।
यसअघि इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले अमेरिकाले १४ बुँदे समझदारीअनुसार आर्थिक नाकाबन्दी हटाउने, रोकिएका इरानी सम्पत्ति फुकुवा गर्ने र तेलमाथिका प्रतिबन्ध खुकुलो नबनाएसम्म जलमार्ग नखोलिने स्पष्ट पारिसकेका छन्। अर्कोतर्फ अमेरिकी ऊर्जा सचिव क्रिस राइटले नौसेनाको सुरक्षामा होर्मुज जलमार्ग हुँदै दैनिक करोडौँ ब्यारेल ऊर्जा आपूर्ति भइरहेको दाबी गर्दै आएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी–डे’ अभियानको घोषणा गर्दै तेल तस्करी सञ्जाल र वित्तीय कारोबारमाथि कडा कारबाही सुरु गरेको र होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका थिए। तर, इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले अमेरिकी दाबीलाई अस्वीकार गर्दै वास्तविकता इरानले नै सच्याइदिने प्रतिक्रिया दिएका छन्।