काठमाडौँ । रुसले युक्रेनको राजधानी किभमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
युक्रेनका प्रधानमन्त्रीले आक्रमणमा ठूलो क्षति भएको जानकारी दिएका छन्। युक्रेनी राजधानीमा हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक क्षेप्यास्त्रको अभाव भइरहेका बेला रुसी आक्रमण भएको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई प्रतिरक्षा क्षेप्यास्त्रको अभावकै कारण ठूलो मानवीय क्षति भएको बताएका छन्।युक्रेनको राज्य आपत्कालीन सेवाका अनुसार रातभर भएको आक्रमणमा किभका विभिन्न स्थानमा रहेका अपार्टमेन्ट भवन र गोदामहरूमा क्षति पुगेको छ। बाल अस्पताल र विद्यालयसमेत प्रभावित भएका छन्। किभका मेयर भिताली क्लित्स्कोले युक्रेनलाई नागरिकको सुरक्षा गर्न सहयोगी राष्ट्रबाट थप सहयोग आवश्यक रहेको बताएका छन्। उनले युक्रेनलाई गोली–बारुद तथा क्षेप्यास्त्र प्रतिरोधी प्रणाली तत्काल आवश्यक रहेको बताए। किभको सोलोमियान्स्की जिल्लामा क्षतिको निरीक्षणका क्रममा क्लित्स्कोले ध्वस्त भएका भवन र भग्नावशेषबीच उद्धारकर्मीहरू काम गरिरहेको बताएका छन्।
आक्रमणबाट प्रभावित स्थानीय बासिन्दामध्ये भालेरिया बोन्डारुक पनि छन्। दक्षिणी युक्रेनस्थित आफ्नो घर रुसी आक्रमणमा ध्वस्त भएपछि सुरक्षित ठानेर उनी छोरीसहित किभ आएकी थिइन्। तर अहिले उनी दोस्रोपटक घरबारविहीन भएकी छन्। उनले आफ्नी १३ वर्षीया छोरीको भविष्यलाई लिएर चिन्ता व्यक्त गर्दै युक्रेन छाड्नेबारे सोचिरहेको बताएकी छन्। युक्रेनी सांसद ओलेक्सिय गोन्चारेन्कोले युक्रेन ब्यालेस्टिक क्षेप्यास्त्रको आक्रमणबाट ‘पूर्ण रूपमा असुरक्षित’ अवस्थामा रहेको बताएका छन्। पर्याप्त इन्टरसेप्टर क्षेप्यास्त्रबिना युक्रेनले त्यस्ता आक्रमण रोक्न नसक्ने उनको भनाइ छ। युक्रेनी वायुसेनाले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार रातभर प्रहार गरिएका रुसी ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये कुनै पनि रोक्न नसकिएको संकेत गरेको छ।युक्रेनी वायुसेनाका अनुसार रुसले आक्रमणका क्रममा १६८ ड्रोन र ४४ वटा क्षेप्यास्त्र प्रयोग गरेको थियो। तीमध्ये हवाई प्रतिरक्षा प्रणालीले १४६ ड्रोन र ३९ वटा क्रुज क्षेप्यास्त्र खसालेको दाबी गरिएको छ।
रुसले भने सैन्य संरचना तथा गोदामलाई लक्षित गरी स्थल, समुद्र र हावाबाट प्रहार गर्न सकिने हतियार प्रयोग गरिएको जनाएको छ। युक्रेनले रुसी ब्यालेस्टिक क्षेप्यास्त्र रोक्न अमेरिकी सहयोगमा प्राप्त प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रमा ठूलो भर पर्दै आएको छ। तर मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकाले आफ्नै भण्डारको ठूलो हिस्सा प्रयोग गरिसकेकाले युक्रेनलाई त्यस्ता क्षेप्यास्त्रको आपूर्ति घटेको बताइएको छ। राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँग पर्याप्त ब्यालेस्टिक क्षेप्यास्त्र प्रतिरोधी प्रणाली नभएसम्म रुसले शान्तिबारे गम्भीर रूपमा सोच्न नसक्ने बताएका छन्। उनले प्याट्रियट प्रणालीका लागि आवश्यक इन्टरसेप्टर क्षेप्यास्त्र तत्काल आवश्यक रहेको उल्लेख गरेका छन्। यसैबीच, जेलेन्स्कीले थप सैन्य सहयोगको अपिल गरिरहेकै बेला पूर्वरक्षा मन्त्री माइखाइलो फेदोरोभबाट राजनीतिक चुनौतीको सामना गरिरहेका छन्। फेदोरोभले निर्वाचनको माग गर्दै सरकारमाथि भ्रष्टाचारका कारण सेनाले आवश्यक हतियार नपाएको आरोप लगाएका छन्।
किभमा पछिल्लो आक्रमण स्थानीय समयअनुसार मध्यरातदेखि सुरु भएको थियो। हवाई आक्रमणको चेतावनी बजेसँगै करिब २० वटा रुसी क्षेप्यास्त्र प्रहार भएको बताइएको छ। आक्रमणका कारण हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा किभ क्षेत्रका केही स्थान अँध्यारोमा डुबेका थिए। आक्रमणमा मारिएकाहरूको सम्झनामा शुक्रबार शोक दिवस घोषणा गरिएको छ। किभ क्षेत्रको ब्रोभारी र बोरिस्पिल जिल्लामा भएको अर्को आक्रमणमा एक जनाको मृत्यु र सात जना घाइते भएका छन्। डोनेत्स्क क्षेत्रमा पनि एक जनाको मृत्यु भएको र ११ जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। यता, रुसी रक्षा मन्त्रालयले देशका विभिन्न क्षेत्रमा प्रक्षेपण गरिएका ७२६ युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ। रोमानियाको रक्षा मन्त्रालयका अनुसार युक्रेनको उत्तरी सीमाबाट एउटा ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको थियो। त्यसपछि हवाई आक्रमणको चेतावनी जारी गरिएको र उक्त ड्रोन बस्ती नभएको क्षेत्रमा खसेको बताइएको छ।
पोल्यान्डको सेनाले पनि आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि ‘रक्षात्मक हवाई कारबाही’ सुरु गरेको जनाएको छ। पछिल्ला केही सातादेखि रुस र युक्रेन दुवैले एकअर्काविरुद्ध ठूलो स्तरमा हवाई आक्रमण गर्दै आएका छन्। यस क्रममा दर्जनौँ मानिसको मृत्यु भएको छ। युक्रेनले पछिल्लो समय रुसभित्र टाढासम्म आक्रमण गर्ने क्रम बढाएको छ। गत सप्ताहन्तमा मस्कोमाथि करिब ६०० ड्रोनबाट आक्रमण गरिएको दाबी गरिएको थियो। यसै साता रुसमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा एक बालकसहित कम्तीमा १६ जनाको मृत्यु भएको बताइएको छ। युक्रेनको रक्षा मन्त्रालयले रुसी अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका लजिस्टिक केन्द्रलाई लक्षित गरी गरिएको पछिल्लो आक्रमणपछि कम्पनीका १० मध्ये सातवटा लजिस्टिक केन्द्र प्रभावित भएको जनाएको छ। युद्ध जारी रहे पनि युद्धविरामका लागि भइरहेका कूटनीतिक प्रयासमा भने उल्लेखनीय प्रगति हुन सकेको छैन। रुस र युक्रेन दुवैले एकअर्कामाथि नागरिकलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाउँदै आएका छन्। रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेको थियो। हाल रुसले युक्रेनको करिब एक–पाँचौं भूभाग नियन्त्रणमा राखेको बताइएको छ, जसको ठूलो हिस्सा पूर्वी सीमावर्ती क्षेत्रमा रहेको छ।