काठमाडौँ। केन्याको उत्तरी क्षेत्रमा सफारी यात्राका क्रममा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको छ।
मृतकमध्ये पाँच जना अमेरिकी नागरिक रहेको स्थानीय प्रहरी र अमेरिकी विदेश विभागले जनाएको छ। केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा एक जना पाइलटसहित ६ जना यात्रु थिए। बुधबार बिहान ९ः१३ बजे लोसाबा कन्जर्भेन्सीबाट साम्बुरु काउन्टीको इवासो न्यिरोतर्फ उडेको हेलिकप्टर माउन्ट ओलोलोक्वेको दुर्गम क्षेत्रमा दुर्घटनामा परेको हो।
दुर्घटनापछि खोज तथा उद्धारका लागि हेलिकप्टर र केन्या रेडक्रसका आपत्कालीन टोली परिचालन गरिएको थियो। तर हेलिकप्टरमा रहेका सबैको मृत्यु भएको पुष्टि गरिएको छ। स्थानीय कम्पनीको चार्टर उडानका रूपमा प्रयोग भएको उक्त हेलिकप्टरमा सवार अमेरिकी नागरिकहरूको परिचय भने सार्वजनिक गरिएको छैन। अमेरिकी दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी मृतकका परिवारलाई आवश्यक कन्सुलर सहयोग उपलब्ध गराइरहेको जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। अधिकारीहरूले हेलिकप्टरमा प्राविधिक समस्या आएको हो वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान अघि बढाएका छन्। दुर्घटनाग्रस्त हेलिकप्टर युरोकप्टर ईसी–१३० बी४ मोडलको रहेको बताइएको छ।