काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै सबैभन्दा कठोर आर्थिक कारबाही तथा प्रतिबन्ध घोषणा गर्ने चेतावनी दिएका छन् । अमेरिका र इरानबिच विगत पाँच महिनाभन्दा बढी समयदेखि जारी कूटनीतिक द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्ताहरूमा गतिरोध देखिएपछि ट्रम्पले यस्तो कडा टिप्पणी गरेका हुन् ।
बुधबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले इरानले अमेरिकासँग सम्झौतामा पुग्ने महत्त्वपूर्ण अवसर गुमाएको आरोप लगाए । उनले सम्झौताको अवसर लिन असफल भएकाले अब इरानले अहिलेसम्म कुनै पनि देशले सामना नगरेको कठोर आर्थिक युद्ध र अन्तर्राष्ट्रिय एक्लोपनको सामना गर्नुपर्ने चेतावनी दिएकाक छन् ।
राष्ट्रपति ट्रम्पले इरानसँग कुनै पनि प्रकारको व्यापारिक वा व्यावसायिक कारोबार गर्ने जुनसुकै तेस्रो देशमाथि समेत कडा प्रतिबन्ध लगाइने बताए । “जुनसुकै देशले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउँछ, उसले आफैँ ठूलो आर्थिक दुष्परिणाम भोग्नुपर्नेछ,“ ट्रम्पले भन्नुभएको छ, “इरानसँग सम्बन्धित तेलको तस्करी, स्वाप लाइन, नगद हस्तान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता र छद्म (अग्र) कम्पनीहरूका गतिविधिहरू अहिले नै पूर्ण रूपमा रोकिनुपर्छ।”
इरानबाट उत्पन्न हुने सुरक्षा खतरा हटाउन र उसलाई परास्त गर्न सम्पूर्ण अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरू अमेरिकाको साथमा उभिनुपर्ने ट्रम्पको भनाइ छ। अमेरिकाले यसअघि नै इरानको तेल बिक्री तथा वित्तीय क्षेत्रमा कडा प्रतिबन्धहरू लगाइसकेको भए पनि पछिल्लो समय वार्ता भङ्ग भएपछि ट्रम्पले पुनः थप आक्रामक रणनीति अपनाउने सङ्केत गरे ।