काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा उनको वरिपरि प्रायः देखिने सहयोगीमध्ये नताली हार्प प्रमुख पात्र बनेकी छन्।
३५ वर्षीया हार्प लामो समयदेखि ट्रम्पकी विश्वासपात्र र वफादार सहयोगीका रूपमा चिनिन्छिन्। ट्रम्पका लागि सामाजिक सञ्जालका सामग्री टाइप गर्नेदेखि आवश्यक कागजात तथा सूचनाको व्यवस्थापन गर्नेसम्मका काममा हार्प संलग्न रहेको बीबीसीले जनाएको छ। पछिल्लो समय जर्जियाका डेमोक्र्याट सिनेटर जोन ओसफले एक भाषणमा हार्पको नाम लिएपछि उनी पुनः चर्चामा आएकी हुन्।
ट्रम्पसँग कसरी जोडिइन् हार्प ?
क्यालिफोर्नियाकी हार्प परम्परागत राजनीतिक बाटो हुँदै ह्वाइट हाउस पुगेकी भने होइनन्। ट्रम्पले आफूलाई उपचारको अवसर उपलब्ध गराएर जीवन बचाउन सहयोग गरेको भन्दै उनले सार्वजनिक रूपमा ट्रम्पको प्रशंसा गर्दै आएकी छन्। ट्रम्पको पहिलो कार्यकालमा लागू भएको ‘राइट टु ट्राई’ कानुनले केही बिरामीलाई प्रयोगात्मक उपचारमा पहुँचको बाटो खोलेको थियो। हड्डीको क्यान्सरबाट पीडित हार्पले पनि उपचारका क्रममा उक्त व्यवस्थाको प्रयोग गरेकी थिइन्।
सन् २०२० को रिपब्लिकन राष्ट्रिय सम्मेलनमा उनले ट्रम्पको खुलेर प्रशंसा गरेकी थिइन्। त्यसपछि उनी ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानसँग नजिकिइन् र सन् २०२० को राष्ट्रपतीय निर्वाचन अभियानमा समेत सल्लाहकार बोर्डको सदस्य बनेकी थिइन्। ट्रम्प निर्वाचनमा पराजित भएपछि हार्पले रूढिवादी सञ्चार संस्था ‘वन अमेरिका न्युज नेटवर्क’ मा कार्यक्रम सञ्चालन गरिन्। त्यहाँ उनले ट्रम्पको पक्षमा खुलेर वकालत गरिन्। सन् २०२२ मा उक्त संस्था छाडेर उनी ट्रम्पको अर्को राष्ट्रपतीय अभियानमा आबद्ध भइन्।
ह्वाइट हाउसमा कस्तो छ भूमिका ?
ह्वाइट हाउसमा हार्पको आधिकारिक पद राष्ट्रपतिकी कार्यकारी सहायक हो। सामान्यतया यो पदमा राष्ट्रपतिको तालिका व्यवस्थापन, सञ्चार समन्वय, कागजात व्यवस्थापन तथा अन्य प्रशासनिक काम समावेश हुन्छन्। तर ट्रम्पको दोस्रो कार्यकालमा हार्पको भूमिका सामान्य कार्यकारी सहायकको भन्दा प्रभावशाली देखिएको बीबीसीले उल्लेख गरेको छ। ह्वाइट हाउसका केही कर्मचारी तथा सञ्चारकर्मीले उनलाई ‘मानवीय प्रिन्टर’ समेत भन्ने गरेका छन्। उनी प्रायः पोर्टेबल प्रिन्टर बोकेर ट्रम्पका लागि समाचार, लेख तथा सामाजिक सञ्जालका सामग्रीको प्रतिलिपि तयार गरिरहेको देखिन्छिन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्ने सामग्री तयार पार्दा पनि हार्पको सहयोग लिने गरेका छन्। केही अवसरमा ट्रम्पले बोलेअनुसार उनले सामाजिक सञ्जालका सामग्री टाइप गरेको दृश्य सार्वजनिक भएका छन्।
‘गेटकिपर’देखि ‘कम्फर्ट ब्ल्यांकेट’सम्म
ह्वाइट हाउससँग नजिक रहेका केही स्रोतले हार्पलाई ‘गेटकिपर’ अर्थात् राष्ट्रपतिसम्म सूचना तथा सामग्री पुग्ने प्रक्रियामा प्रभाव राख्ने व्यक्तिका रूपमा वर्णन गरेका छन्। कतिपयले उनलाई ट्रम्पका लागि ‘कम्फर्ट ब्ल्यांकेट’ अर्थात् भरोसायोग्य तथा भावनात्मक रूपमा नजिकको सहयोगीका रूपमा समेत चित्रण गरेका छन्। ट्रम्पको दोस्रो कार्यकालमा हार्प प्रायः उनको वरिपरि देखिन्छिन्। ह्वाइट हाउसका पत्रकारहरूले उनलाई ओभल अफिसमा ट्रम्पको नजिकै तथा राष्ट्रपति सहभागी हुने विभिन्न घरेलु र अन्तर्राष्ट्रिय भ्रमणमा समेत देख्ने गरेका छन्।
गोप्य विमान यात्रापछि फेरि चर्चामा
हालै ट्रम्प टर्कीबाट अमेरिका फर्किने क्रममा गोप्य रूपमा विमान परिवर्तन गरेको घटनामा पनि हार्पको नाम जोडिएको थियो। इरानबाट सम्भावित खतराको सूचना प्राप्त भएपछि ट्रम्पले विमान परिवर्तन गरेको बताइएको घटनामा हार्प पनि उनीसँगै रहेको भन्दै आलोचना भएको थियो। जर्जियाका डेमोक्र्याट सिनेटर जोन ओसफले पनि ट्रम्पसँग हार्पको निरन्तर उपस्थितिलाई लिएर प्रश्न उठाएका थिए। त्यसपछि यो विषय अमेरिकी सञ्चारमाध्यममा थप चर्चामा आएको हो। यद्यपि ह्वाइट हाउसले हार्पलाई राष्ट्रपतिको ‘विश्वासिलो र मूल्यवान् सदस्य’ का रूपमा वर्णन गरेको छ।
हार्पको निजी जीवनबारे भने सार्वजनिक रूपमा धेरै जानकारी उपलब्ध छैन। उनका बारेमा सार्वजनिक भएका अधिकांश विवरण अमेरिकी सञ्चारमाध्यमका रिपोर्ट तथा पत्रकारहरूले तयार पारेका पुस्तकमा उल्लेख भएका स्रोतमा आधारित छन्। ट्रम्पसँगको निकटता र राष्ट्रपतिको दैनिक कार्यशैलीमा देखिएको उपस्थितिका कारण नताली हार्प अहिले अमेरिकी राजनीतिक वृत्तमा चर्चित ह्वाइट हाउस सहयोगीमध्ये एक बनेकी छन्।