काठमाडौं । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा बुधबार बिहान होटलमा भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मध्य कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित एक होटलमा बिहान करिब १ः४५ बजे आगलागी भएको हो। आगलागीको खबर पाएलगत्तै दमकलका पाँच वटा गाडी घटनास्थलमा पुगेका थिए।प्रहरी तथा विपद् व्यवस्थापन टोलीसमेत तत्काल उद्धारमा खटिएको थियो। दमकलकर्मीले केही समयमै आगो नियन्त्रणमा लिए पनि होटलभित्र बाक्लो धुवाँ भरिएका कारण माथिल्ला तलामा पुगेर उद्धार गर्न कठिनाइ भएको जनाइएको छ।आगो नियन्त्रणमा आएपछि भवनलाई चिस्याउने र होटलभित्र कोही फसेको भए खोजी गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।प्रहरीले हालसम्म ९ जनाको मृत्यु पुष्टि गरेको छ। घाइते ६ जनालाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।होटलको माथिल्लो तलामा बाक्लो धुवाँ फैलिएका कारण उद्धार तथा खोजी अभियान अझै जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ।