काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल कुनै सम्झौता हुने सम्भावना नरहेको दाबी गरेका छन्।
उनले इरानले आणविक हतियार राख्न नपाउने भन्दै तेहरानले आफ्नो अडान त्याग्नुपर्ने बताएका छन्।सोमबार ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले आफूले आवश्यक ठानेको स्तरको सम्झौता गर्न नचाहेको बताएका हुन्।हामी त्यहाँ एउटै कारणले छौँ इरानले आणविक हतियार राख्न पाउँदैन,’ ट्रम्पको भनाइ थियो।अमेरिकाले इरानसँग भएको अन्तरिम समझदारीको अवधि थप गर्न खोजिरहेको हो कि भन्ने प्रश्नमा भने ट्रम्पले स्पष्ट रूपमा ‘होइन’ भने।यसअघि जुन महिनामा भएको अन्तरिम समझदारीले दुवै पक्षबीच सैन्य कारबाही तत्काल र स्थायी रूपमा रोक्ने घोषणा गरेको थियो। तर उक्त समझदारी प्रभावकारी रूपमा अघि बढ्न सकेन।
ट्रम्पले गत जुलाई ७ मै अन्तरिम समझदारी समाप्त भएको बताएका थिए। त्यसको करिब एक सातापछि इरानको परराष्ट्र मन्त्रालयले पनि समझदारी निलम्बन गरिएको घोषणा गरेको थियो।समझदारीपत्र एमओयू अनुसार अमेरिका र इरानले पारस्परिक सहमतिमा बढीमा ६० दिनभित्र इरानको आणविक कार्यक्रमको भविष्यलगायत व्यापक विषय समेटिएको अन्तिम सम्झौता गर्ने प्रतिबद्धता जनाएका थिए। सोमबार उक्त समझदारीमा हस्ताक्षर भएको ६० दिन पूरा भएको छ।यसअघि नै ट्रम्पले फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्तामा इरानले ‘आत्मसमर्पण गर्नुपर्ने’ धारणा राखेका थिए।
यसैबीच, क्षेत्रीय रूपमा संयुक्त व्यवस्थापन गर्ने ओमानको प्रस्ताव इरानले अस्वीकार गरेको बताइएको छ।विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आवागमन हुने स्ट्रेट अफ हर्मुज खुला राख्ने विषयमा ओमान र इरानबीच छलफल भइरहेको छ। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि नै यस विषयमा ओमान र इरानबीच वार्ता चलिरहेको थियो।तर उक्त वार्ताको प्रगतिप्रति ट्रम्प भने सन्तुष्ट देखिएका छैनन्।फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले ओमानले बाटो अवरुद्ध गरे कडा सैन्य कारबाही गर्न सक्ने चेतावनीसमेत दिएका थिए।पछि ओभल अफिसमा ओमानप्रति आफ्नो धैर्यता समाप्त भएको हो कि भन्ने प्रश्नमा ट्रम्पले उनीहरूको व्यवहारप्रति आफू सन्तुष्ट नरहेको बताए। यद्यपि अन्य विषयजस्तै यो विषयलाई पनि अमेरिकाले ‘सम्हाल्न सक्ने’ उनको भनाइ थियो।