यूरोप । अत्यधिक गर्मी र लामो समयदेखिको खडेरीका कारण युरोपका विभिन्न देशमा डढेलो फैलिँदा हजारौँ मानिस घर छाडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्।
फ्रान्स, जर्मनी, स्पेन, ग्रीस, क्रोएसिया र सर्बियालगायत देशमा डढेलो तीव्र रूपमा फैलिरहेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपलाई ‘उच्च डढेलो जोखिम’ को अवस्थामा रहेको बताउँदै पूर्वी युरोपेली देशहरूमा दबाब बढिरहेको उल्लेख गरेकी छन्।
फ्रान्सको दक्षिणपश्चिमी लान्द क्षेत्रमा फैलिएको डढेलोका कारण थप करिब १०० स्थानीय बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ। उक्त क्षेत्रमा मात्रै करिब १ हजार ५८० हेक्टर वन क्षेत्र जलेको र ५५० अग्निनियन्त्रक परिचालन गरिएको छ।
जर्मनीको हर्टगेनवाल्ड क्षेत्रमा फैलिएको ठूलो डढेलोका कारण कम्तीमा १ हजार ८०० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आगो नियन्त्रणका लागि करिब १ हजार ४०० अग्निनियन्त्रक परिचालन गरिएको छ। यो डढेलो उत्तर राइन–वेस्टफालिया राज्यको इतिहासकै सबैभन्दा ठूलो वन डढेलोमध्ये एक बनेको छ।
स्पेनको आरागोन क्षेत्रमा पनि करिब १ हजार मानिसलाई विस्थापित गरिएको छ। त्यहाँको डढेलोले १५ हजार हेक्टरभन्दा बढी क्षेत्र प्रभावित बनाएको छ।
ग्रीसमा तीव्र हावाका कारण डढेलोको जोखिम उच्च रहेको छ। पछिल्लो २४ घण्टामा मात्रै ५० भन्दा बढी कृषि तथा वन क्षेत्रमा आगलागी भएको जनाइएको छ।
पूर्वी युरोपतर्फ क्रोएसिया र सर्बियामा पनि डढेलो नियन्त्रणका लागि ठूलो संख्यामा अग्निनियन्त्रक तथा पानी छर्कने विमान परिचालन गरिएको छ। सर्बियाको डेलिब्लात्स्का राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्रै करिब २५ वर्ग किलोमिटर क्षेत्र डढेलोबाट प्रभावित भएको छ।
युरोपेली संघले स्पेन, अल्बानिया, ग्रीस, फ्रान्स, जर्मनी र सर्बियामा आगलागीको अवस्थाको नक्साङ्कन तथा निगरानीका लागि कोपरनिकस भू–अवलोकन प्रणाली प्रयोग गरिरहेको जनाएको छ।
अत्यधिक गर्मी, खडेरी र तीव्र हावाका कारण डढेलो फैलिने जोखिम बढेपछि युरोपका धेरै क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।